• १४ चैत २०८२, शनिबार

‘कम बोल्छु, धेरै काम गर्छु’

blog

सन्तोष राउत

सोलुखुम्बु, चैत १४ गते  । मुलुकभरि नेपाली कांग्रेसका उम्मेदवारले हार बेहोरिरहँदा सोलुखुम्बुमा भने नेपाली कांग्रेसले राम्रो मतान्तरले जित हात पारेको छ । दुई निर्वाचनमा लगातार हार बेहोरेको कांग्रेसले यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीको दबदबाबिच जित हात पारेको हो । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले नेपाली कम्युनिस्ट पार्टीका असिम राईलाई तीन हजार ७५२ मतान्तरले हराउनुभएको हो । कार्कीले १३ हजार १६६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी राईले नौ हजार ४१४ मत प्राप्त गर्नुभएको हो ।

जिल्लामा लामो समयदेखि समाजसेवी छवि बनाउनुभएका कार्की सफल उद्योग व्यवसायी हुनुहुन्छ । यसअघि सोलुखुम्बु काठमाडौँ सम्पर्क समितिको महासचिव, जिल्ला सदस्य तथा सल्लाहकारका रूपमा जिल्ला पार्टीमा काम गरिसक्नुभएका कार्की २०७४ सालको निर्वाचनमा प्रदेश सभाबाट उम्मेदवार भई थोरै मतान्तरले पराजित हुनुभएको थियो । 

वल्र्ड फ्रेट इन्टरनेसनल, पारागन ट्राभल्स एन्ड टुर र रिलायन्स ट्रेड कन्सर्न जस्ता कम्पनीमा प्रबन्ध निर्देशकका रूपमा रहँदै उहाँ नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्य महासङ्घको सडक, यातायात तथा पारवहन समितिको अध्यक्ष, उद्योग, लायन्स क्लब काठमाडौँ क्यापिटलको अध्यक्षका रूपमा समेत जिम्मेवारी पूरा गरिसक्नुभएको छ ।

यस पटक कांग्रेसमा कुनै गुटबन्दी नभएका जित सम्भव भएको नेता बताउँछन् । सुशासन, विकासनिर्माण, भ्रष्टचारमुक्त समाज निर्माण र नीतिनिर्माणलगायतका एजेन्डा लिएर अघि बढेको कांग्रेसलाई सोलुखुम्बुका जनताले साथ दिएको कार्की बताउनुहुन्छ । 

जनताका तमाम समस्यामा सधैँ जनताका माझमा रहने प्रतिबद्धता व्यक्त गर्दै कार्की भन्नुहुन्छ, “म राज्यको कुनै सुविधा उपयोग नगरी आफ्नो खाएर जनताको सेवामा लाग्ने छु, म सधैँ तपाईंहरूको सेवक हुँ,” उहाँ भन्नुहुन्छ, “म कम बोल्छु, धेरै काम गर्न मन पराउँछु ।” उहाँले आफूले पाउने सेवा सुविधा सोलुखुम्बुको सबै वडामा आवश्यकता अनुसार खर्च गर्ने बताउनुभएको छ ।

व्यवसाय र राजनीतिलाई सँगै अगाडि बढाउनुभएका ६२ वर्षीय कार्कीको यात्रा सङ्घीय संसद्तिर हुँदै गर्दा संसद्मा समग्र जिल्लाको विकासको मुद्दा उठाउने बताउनुहुन्छ । सोलुखुम्बुको कृषि, पर्यटन र कृषिजन्य वस्तुको बजारीकरणका विषयमा काम गर्न सके मात्र किसानको जीवनस्तर उकास्न सकिने बताउँदै आएका कार्कीले पर्यटकीय जिल्ला सोलुखुम्बुमा केबुलबारलगायत पर्यटनको विकासका लागि विभिन्न क्षेत्रमा काम गर्ने बताउनुभएको छ । सोलुखुम्बुको ग्रामीण क्षेत्र नेचासल्यान गाउँपालिका–१, टारीमा जन्मिएका कार्कीले सदरमुकामको जनजागृति माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेर काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तहको अध्ययन पूरा गर्नुभएको छ ।