• १९ वैशाख २०८३, शनिबार

श्रमिकको व्यवसायजन्य सुरक्षा कार्यक्रम सुरु

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १९ गते  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पाँचबर्से राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक आरम्भ गर्नुभएको छ । १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसका अवसरमा मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा  प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने गरी स्वास्थ्य कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । 

 उहाँले विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी कन्सुलरबाट हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुुभयो । “अब तपाईंहरू जहाँ हुनुहुन्छ, सरकार तपाईंसँगै छ,” श्रममन्त्री यादवले भन्नुुभयो ।

मन्त्री यादवले तेस्रो घोषणामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले घडेरी खरिद गर्नका लागि छ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गरिने बताउनुुभयो । त्यसबाहेक एक करोड ५० लाखसम्म नियम अनुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । यसका अतिरिक्त नीतिगत सुधार, संस्थागत पुनर्संरचना तथा नवीन रोजगारी सिर्जनाका कार्यव्रmम पनि अघि बढिरहेको जानकारी गराउनुुभयो । श्रममन्त्री यादवले श्रम कुनै एक पेसा वा वर्गमा सीमित नभएको बताउनुभयो । 

श्रमसचिव डा. दीपक काफ्लेले श्रम र श्रमिकको सम्मान नगरेसम्म देशको विकास नहुने भएकाले श्रमको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनुभयो । 

विशेष दिनमा  एक/अर्काको श्रमको सम्मान गर्ने र एक÷अर्काप्रति कृतज्ञता व्यक्त गर्ने संस्कारलाई अझ सुदृढ बनाउन  सकेमा साँचो अर्थमा मे दिवसको अर्थ रहने उहाँले बताउनुुभयो । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का राष्ट्रिय कार्यक्रम निर्देशक नुमान ओज्कानले नेपालको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी भएकाले यसलाई अनौपचारिक क्षेत्रमा व्यापक बनाउन सबैको पहल आवश्यक हुने बताउनुभयो । 

मन्त्रालयका सहायक प्रवक्ता मेघनाथ रिमालले आन्तरिक एवं वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै राष्ट्रिय उत्पादन र रोजगारी वृद्धिमा सकारात्मक प्रयास सुरु भएको बताउनुुभयो ।