काठमाडौँ, वैशाख १९ गते । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको एउटै तिथि वैशाख पूर्णिमाको दिनलाई बुद्ध पूर्णिमाका रूपमा शुक्रबार विश्वभर मनाइएको छ । हिन्दु धर्मले बुद्धलाई भगवान् विष्णुका दस अवतारमध्ये नवौँ अवतारका रूपमा चित्रण गरेको छ । बौद्ध धर्मावलम्बीको प्रमुख आधार बुद्धको विचार हो । त्यसैले हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको आस्था बुद्ध पूर्णिमाको दिन बराबर रहिआएको छ ।
विश्वका विभिन्न स्थानमा युद्ध, द्वन्द्व र कलहले मानिसको आत्मा चहराइरहेको छ । बुद्धले फैलाएको शान्ति, अहिंसा र करुणाको शिक्षा चेतनाले नै युद्धले पारेका घाउमा मलम लगाउन हरेक मानिसलाई उत्प्रेरित गर्ने विज्ञहरू औँल्याउनुहुन्छ ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा सिद्धार्थ गौतमको स्वरूपमा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्ध भगवान्को जन्म भएको हो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मनुभएका सिद्धार्थ गौतमले कलिलै उमेरमा दरबार र घरबार त्याग्दै ज्ञानको खोजीमा लम्कनुभएको थियो । लामो तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धमा रूपान्तरण हुनुभयो । पहिलो पटक सारनाथमा उहाँले पाँच जना शिष्यलाई शान्ति, अहिंसा र करुणाको शिक्षा दिनुभएको थियो ।
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो । बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म उहाँले दिनुभएको उपदेश, शिक्षा र नियमको सङ्ग्रह त्रिपिटकमा छ ।
त्रिपिटकका तीन मुख्य भाग छन् । जस अनुसार पहिलो विनयपिटक अर्थात् जसमा भिक्षुभिक्षुणीले पालना गर्नुपर्ने अनुशासन, नियम र आचारसंहिता छ । दोस्रो सुत्तपिटक जसमा बुद्धले विभिन्न समयमा, विभिन्न व्यक्ति वा समूहलाई दिएका उपदेश, संवाद र सूत्रहरू सङ्गृहीत छन् । तेस्रोमा अभिधम्मपिटक जसमा बुद्धको दर्शनको विस्तृत व्याख्या गरिएको छ । सारमा त्रिपिटकले नैतिक, अहिंसायुक्त, सत्य र सदाचारयुक्त जीवन बाँच्न सिकाउँछ ।
त्यस्तै संसारमा रहेका दुःखका कारण पहिचान गरी त्यसबाट मुक्ति प्राप्त गर्ने उपाय बताउँछ । अत्यधिक भोगविलास र कठोर तपस्या त्यागेर मध्यम मार्ग अपनाउन प्रेरणा दिन्छ । अभिधम्मपिटकको माध्यमबाट मन, चित्त र ज्ञान विकासमा जोड दिइन्छ ।
साँचो क्रान्ति ज्ञानबाट : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले बुद्धजयन्तीका अवसरमा बुद्धको शान्तिको सन्देश अभिव्यक्त गर्नुभएको छ । उहाँले साँचो क्रान्ति ‘क’ बाट नभएर ‘ज्ञ’ बाट हुनुपर्ने बताउनुभएको छ । उहाँले बुद्ध भगवान्लाई शान्तिका सर्वकालीन महान् प्रवर्तकका रूपमा स्मरण गर्दै विश्वशान्तिको कामना गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ, साँचो व्रmान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ र त्यो ‘ज्ञ’ ज्ञान हो ।” उहाँले भन्नुभएको ‘ज्ञ’ को ज्ञान अन्तर्गत बुद्ध भगवान्ले सिर्जना गर्नुभएको शान्ति, करुणा र अहिंसाको शिक्षा हो । जुन विश्वशान्तिको प्रमुख स्रोत हो । प्रधानमन्त्री शाहले बुद्ध भगवान्ले मानव जीवनको दुःख निवारणका उपाय स्मरण यसरी गर्नुभएको छ, “बुद्धले भन्नुभयो– दुःख छ, दुःखका कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ ।”
जीवनलाई सार्थक बनाउनुपर्ने औँल्याउँदै उहाँले अगाडि भन्नुभएको छ, “उज्यालोको अभावै अँध्यारो हो, जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ, हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनु पर्छ, समस्या निवारणको मार्गमा हुनु पर्छ ।” उहाँले त्यसका लागि मानिसले आफैँ दीप बनेर उज्यालिनुपर्ने उल्लेख गर्दै अप्प दीपो भवः भन्नुभएको छ ।
केन्द्रीकृत दृष्टि आवश्यक
भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई औँल्याउनुहुन्छ । उहाँका अनुसार जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गर्नुभएको छ । यसलाई बुद्धले दिनुभएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्छन् । यसै गरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानवहितमा सन्देश छर्नुभएकाले बुद्धलाई एसियाका तारा उपाधि दिइएको छ । पञ्चशीलको यसै सिद्धान्तको आधारलाई नेपालको परराष्ट्र नीतिको पनि प्रमुख आधार मानिएको छ ।
तथापि नेपालले विश्वशान्तिको अग्रदूतका रूपमा स्थान लिन अझै नसक्नुमा बुद्धको ज्ञान प्रवर्धन र प्रसार अभाव रहेको निर्देशक राई औँल्याउनुहुन्छ । त्यसको सुरुवात गर्न शुक्रबार लुम्बिनीमा सभामुख डोरनाथ अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, विभिन्न मुलुकका राजदूत, संयुक्त राष्ट्रसङ्घका नेपाल प्रतिनिधिले अध्यात्मिक ध्यान गर्दै विश्वशान्तिको कामना गर्नुभएको राईले जानकारी दिनुभयो । अमेरिका, इजरायल र इरान, इजरायल र हमास, रुस युव्रmेनलगायतका देशमा चर्किएको द्वन्द्वलाई मानव हितमा रूपान्तरण गर्न पहिले बौद्धमार्गी देश र त्यसपछि अन्य मुलुकमा कूटनीतिक नियोगमार्फत बुद्धको शिक्षाको प्रवर्धन गर्नुपर्ने कोषका निर्देशक राई औँल्याउनुहुन्छ ।
भगवान् बुद्धप्रति समर्पित रहेर विक्रम संवत् २००८ जेठ ८ गतेदेखि वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती मनाउने र सार्वजनिक बिदा दिने चलन बसेको हो । त्यस्तै विसं २०१२ फागुन ७ गतेदेखि बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।