• १४ चैत २०८२, शनिबार

विश्व शान्तिको कामनासहित बज्रगुरु मन्त्र जप सम्पन्न

blog

बज्रगुरु मन्त्र जप पूजामा प्रवचन दिनुहुँदै प्रमुख लामा कुन्दोलिङ ताक्छाक रिन्पोछे । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १४ गते । विश्व शान्ति तथा मानव एकताको कामनासहित ताप्लेजुङमा आयोजना गरिएको बज्रगुरु मन्त्र जप पूजा सम्पन्न भएको छ । सदरमुकाम फुङ्लिङ बजारनजिक सुकेटार क्षेत्रमा आयोजना गरिएको तीन दिने मन्त्र जप पूजा शनिबार सम्पन्न भएको हो ।

बौद्ध धर्ममा आधारित बृहत पूजा बज्रगुरु मन्त्र जपको यसपटक सातौं संस्करण आयोजना गरिएको हो । गएको बिहीबार सुरु भएको मन्त्र जप पूजा विविध धार्मिक गतिविधि गर्दै सम्पन्न भएको छ । आयोजक ताप्लेजुङ बज्रगुरु मन्त्र जप पूजा मूल आयोजक समितिका सदस्य–सचिव पासाङ रिता शेर्पाका अनुसार विगत वर्षमा झैं यसवर्ष पनि पूजा भव्यरुपमा सम्पन्न भएको छ ।

मन्त्र जप पूजामा १३ औं अवतारी कुन्दोलिङ ताक्छाक रिन्पोछे प्रमुख लामाको सहभागी हुनुभएको थियो । मन्त्र जपमा प्रमुख लामा रिन्पोछेसहित ३० जना बढी अन्य बौद्ध धर्मका स्थानीय लामाहरुले प्रवचन तथा अभिषेक दिनुभएको समितिका सदस्य–सचिव शेर्पाले जानकारी दिनुभयो । 

मन्त्र जप पूजाले मन शुद्ध भई सबै प्रकारका पुन्य लाभ हुने र बिघ्नबाधा समाप्त हुनुका साथै सुख शान्ति प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास गर्ने गरिएको सदस्य–सचिव शेर्पाको भनाइ छ । उहाँकाअनुसार सोही विश्वास रहेकाले मन्त्र जपमा उल्लेख्य भक्तजन सहभागी हुने गरेका उहाँले बताउनुभयो ।

बज्र गुरु मन्त्र जपमा ताप्लेजुङसहित पाँचथर, इलाम, संखुवासभा, तेह्रथुमलगायत जिल्लाका भक्तजनले सहभागिता जनाएका आयोजक समितिका प्रचार संयोजक तेन्जिङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको सिक्किम, दार्जिलिङ लगायतबाट भक्तजनहरु मन्त्र जपमा सहभागी भएका छन् । मन्त्र जपमा बौद्ध धर्म मात्र नभई हिन्दू, किराँत लगायतका धर्ममा आस्था राख्ने भक्तजनहरु समेत सहभागी हुँदै आएको उहाँले बताउनुभयो।

यता खर्चका दृष्टिले निकै खर्चालु मानिने पूजालाई निरन्तरता दिन र सफल बनाउनमा आयोजक समितिकै सक्रिय र मुख्य भूमिका रहँदै आएको बताइएको छ । यसवर्ष पनि करिव ४० लाख रुपियाँ जति खर्च हुने अनुमान रहेको छ । वि. सं. २०७३ सालबाट सुरु भएको बज्रगुरु मन्त्र जप पूजा कोभिड–१९ का समयमा तीन वर्ष स्थगित भएको र त्यसपछि प्रत्येक वर्ष मन्त्र जप आयोजना गरिँदै आएको छ ।