सिराज खान
नेपालगन्ज, चैत १४ गते । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका ५६ जनामध्ये ४५ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार निर्वाचनमा ५६ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म ४५ जनाले मात्र खर्च विवरण कार्यालयमा बुझाएका हुन्।
जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले निर्वाचन परिणाम घोषणा भएको एक महिनाभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म ४५ जनाले खर्च विवरण सार्वजनिक गर्दै कार्यालयमा पेस गरेका छन्।
बाँकेको निर्वाचन परिणाम फागुन २३ गते घोषणा गरिएकाले चैत २३ गतेभित्र खर्च विवरण बुझाइसक्नुपर्ने समयसीमा रहेको छ। कार्यालयका अनुसार ११ जना उम्मेदवारले अझै विवरण बुझाउन बाँकी छ।
चैत २३ गते आउन अझै केही दिन बाँकी रहेकाले समयसीमा भित्रै सबै उम्मेदवारले खर्च विवरण बुझाउने आशा गरिएको सूचना अधिकारी पन्तले बताउनुभयो। उहाँले विवरण बुझाउन बाँकी रहेका उम्मेदवारलाई तत्काल प्रक्रिया पूरा गर्न समेत अनुरोध गर्नुभएको छ।
बाँके जिल्लाको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का मोहम्मद इश्तियाक राई र क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै खगेन्द्र सुनार विजयी हुनुभएको छ।