भरतपुर, चैत १४ गते । गोरखापत्रकर्मी वसन्त पराजुली ‘सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।
साहित्य सङ्गम चितवनले हरेक वर्ष वितरण गर्ने यो पुरस्कार यस वर्ष पत्रकार तथा आख्यानकार पराजुलीको उपन्यास ‘बखान’ लाई प्रदान गरिएको हो । २० हजार रुपियाँ नगद, दोसल्ला तथा सम्मानपत्रसहित साहित्य सङ्गमले शनिबार भरतपुरमा एक कार्यक्रम गरी पराजुलीलाई सम्मान गरेको हो । सङ्गमका अध्यक्ष शशिकिरण रेग्मी, साहित्यकार तथा समीक्षक अनिल शर्मा ‘विरही’ ले कार्यक्रममा पराजुलीलाई सम्मान गर्नुभएको थियो ।
साहित्यकार ‘विरही’ ले कार्यक्रममा बोल्दै ‘बखान’ ले विगतका बलिदानलाई वर्तमान आन्दोलन र उपलब्धिसँग जोड्दै यसको महत्त्व झल्काएको बताउनुभयो । उहाँले भन्नुभयो, “‘बखान’ चितवनको इतिहास हो, यसले क्रान्तिको झल्को दिएको छ ।”
कार्यक्रममा बोल्दै साहित्य सङ्गमका उपाध्यक्ष चिराग भण्डारीले यसअघि संस्थाले यो पुरस्कारबाट १४ जना स्रष्टालाई सम्मान गरिसकेको जानकारी दिनुभयो । कार्यक्रममा साहित्यकार उदय अधिकारीले सहिद शिवप्रसाद पौडेलको संक्षिप्त परिचय गराउनुभएको थियो । सहिद पौडेल २०३७ सालको विद्यार्थी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “‘बखान’ उपन्यासले स्थानीय मुद्दालाई राष्ट्रिय स्तरमा स्थापित गराउन सफल भएको छ । यसले चितवनको सामाजिक यथार्थ बोकेको छ ।” कार्यक्रममा बोल्दै प्राध्यापक डा. कर्ण बानियाले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर सङ्गम प्रस्तुत गरिएको बताउनुभयो ।