• १४ चैत २०८२, शनिबार

हात्तीले माहुते नै मारेपछि...

blog

हात्तीसारमा पालिएको हात्ती ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया), चैत १४ गते । बर्दियामा घरपालुवा हात्तीको आक्रमणबाट माहुतेको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको भाले हात्तीले खोलामा नुहाँउदै गर्दा माहुतेलाई आक्रमण गरेको थियो । 

मृत्यु हुनेमा हात्तीसारमा कार्यरत मधुवन नगरपालिकाका गंगाराम थारू हुनुहुन्छ । हात्तीलाई नुहाउने क्रममा उहाँलाई आक्रमण गरेको थियो । थारूले लामो समयदेखि सोही हात्तीलाई स्याहार गर्ने र चलाउने गर्दै आउनु भएको थियो । 

माहुते थारूलाई आक्रमण गरी मारेपछि हात्तीले शव नछोड्दा उद्धार गर्न कठिनाइ भएको थियो । मात्तिएको हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिई थारूको उद्धार गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं प्रमुख अशोक कुमार रामले बताउनु भयो । उहाँले लामो समय अगाडिदेखिको रिसिइबीका कारण हात्ती रिसाएर आक्रमण गरेको हुनसक्ने बताउनु भयो । 

उहाँले थारूको शव पोष्टमार्टमका लागि पठाइएको बताउनु भयो । यसअघि पनि बर्दियामा घरपालुवा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको थियो ।