• १५ चैत २०८२, आइतबार

उच्च हिमाली क्षेत्र लोनाकमा कर्मचारीको मृत्यु

blog

साहारा लिम्बू
फुङलिङ, चैत १५ गते ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लोनाकमा एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ का ३३ वर्षीय चन्द्र जङग हमाल रहनुभएको छ ।  

हमाल गत चैत ८ गतेमात्रै समृद्ध पहाड संस्थामा नियुक्त हुनु भएको थियो । संस्थामा नियुक्त भई कञ्चनजङ्घा संरक्षण क्षेत्रको सपोर्ट कर्मचारीको रुपमा काम गर्न जाने क्रममा लोनाकमा अचानक बिरामी भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हमालको शनिबार बिहान करिब २ः३० मा मृत्यु भए पनि प्रहरीसमक्ष साँझमात्रै जानकारी प्राप्त भएको थियो ।

उच्च हिमाली क्षेत्रमा अत्याधिक चिसो र लेक लागेका कारण हमालको मृत्यु भएको हुनसक्ने स्थानीयको आशङ्का रहेको छ । अहिले शव उद्धारका लागि एभरेष्ट एयरको हेलिकप्टर पठाउने तयारी भइरहेको प्रनाउ गौतमको भनाइ छ । हेलिकोप्टरमार्फत शव सुकेटार विमानस्थलमा ल्याई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले कानुनी प्रक्रिया पूरा गर्ने बताइएको छ ।