• १५ चैत २०८२, आइतबार

‘जनअपेक्षा अनुसार काम गर्छु’

blog

जनार्जन खत्री

सर्लाही, चैत १५ गते  । संसदीय यात्राको पहिलो प्रयासमै विजयको स्वाद चाख्नुभएकी नीतिमा भण्डारी (कार्की) ले सर्लाही–१ मा संविधान सभा सदस्य र दुई जना पूर्वप्रतिनिधि सभा सदस्यलाई पराजित गर्नुभयो । 

भण्डारीले ४४ हजार १८१ मत प्राप्त गर्दा उहाँको  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठले  सात हजार ८७१ मत प्राप्त गर्नुभयो  । 

सर्लाहीमा लामो समयदेखि ‘बाजेको सेकुवा’ को सञ्चालक भएर काम गर्नुभएकी भण्डारी श्रीमान्को प्रेरणाले राजनीतिमा आएको बताउनुहुन्छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनको केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बन्नुअघिसम्म उहाँ उम्मदेवार बन्ने कुनै सङ्केत थिएन तर टिकट पाएसँगै उहाँको चर्चा चुलियो । माध्यमिक तहको शिक्षा सर्लाहीको नवलपुरमा अध्ययन गर्नुभएकी भण्डारीले कक्षा ११, १२ काठमाडौँमा र स्नातक तहको अध्ययन संयुक्त अधिराज्य (बेलायत) मा गर्नुभएको हो । 

चेतन भण्डारीसँग विवाह भएपछि काठमाडौँ बस्न थाल्नुभएकी उहाँले जनअपेक्षा अनुसार काम गर्ने बताउनुभयो । सर्लाही–१ मा चुरे पाखाको विकट गाउँदेखि मधेशको समथर भूभागसम्म पर्छ । भण्डारीले सर्लाही–१ मा थुप्रै समस्या रहेको र ती समस्यालाई व्रmमबद्ध रूपमा समाधान गर्दै लैजनो प्रतिबद्धता व्यक्त गर्नुभयो । 

रोजगारी सिर्जना, कृषि, सिँचाइ, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गर्ने आफ्नो योजना रहेको भण्डारीले सुनाउनुभयो ।  “म मतदातालाई भेट्न घरदैलोमा पुग्दा धेरै समस्या पाएँ, ती समस्या समाधान गर्नु नै मेरो जिम्मेवारी हुने छ,” भण्डारीले भन्नुभयो, “अहिले कुराभन्दा पनि काम गरेर देखाउनु पर्छ भन्ने मेरो धारणा हो ।” उहाँले परिवर्तन देखिने गरी वर्तमान सरकारले काम गर्ने भन्दै आफ्ना क्षेत्रका जनताको समस्यालाई निरन्तर संसद्को बैठकमा उठाउने बताउनुभयो । मतदातालाई आफ्नो उपस्थिति महसुस गराउने उहाँले बताउनुभयो ।