• १५ चैत २०८२, आइतबार

‘पहिले औँठाछाप लगाउँथेँ अहिले हस्ताक्षर गर्छु’

blog

धनुषाको पचहर्वास्थित प्रौढ शिक्षाबाट साक्षर भएका मुसहर समुदायका महिला । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, चैत १५ गते   । धनुषाको सहिदनगर नगरपालिका–५, पचहर्वास्थित मुसहर बस्तीकी ५० वर्षीय उर्मिला सादा अहिले हस्ताक्षर गर्न सक्ने हुनुभएको छ । तीन वर्षअघिसम्म निरक्षर रहेकी उहाँ प्रौढ शिक्षा कार्यव्रmममा सहभागी भएपछि हस्ताक्षर गर्न सक्षम हुनुभएको हो । 

उर्मिलाले प्रौढ शिक्षा हासिल गरेपछि अङ्क र अक्षर राम्ररी पढ्न लेख्न सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले समूहको बैठकमा उपस्थित जनाउँदा औँठाछाप लगाउनुपर्ने बाध्यता थियो । अहिले हस्ताक्षर गर्छु । सानोतिनो हिसाबकिताब पनि आफैँ गर्न सक्छु ।” शिक्षा हासिल गरेपछि जीवनशैली र सोचाइमा पनि परिवर्तन आएको उहाँको भनाइ छ । 

सोही बस्तीकी परमदेवी सादा पनि अहिले लेखपढ गर्न सक्षम हुनुभएको छ । उहाँले निरक्षरताका कारण भोग्नु परेका दुःख सम्झिँदै भन्नुभयो, “पहिले कागजपत्र बुझ्न अरूको भर पर्नु पथ्र्यो । कागजमा के लेखिएको छ भन्ने बुझ्न सक्दैनथ्यौँ । अहिले भने आफैँ पढ्न सक्छौँ । अब ठगिँदैनौँ ।” लेखपढ गर्न सिकेपछि धेरै सहज भएको उहाँको भनाइ छ । 

परमदेवीका अनुसार पचहर्वास्थित मुसहर बस्तीमा प्रौढ शिक्षाले उल्लेखनीय परिवर्तन ल्याएको छ । बर्सौंसम्म निरक्षरता भएर बसेका यहाँका सीमान्तकृत मुसहर समुदायका थुप्रै महिला अहिले हस्ताक्षर गर्न सक्ने हुनुभएको छ । स्थानीय रामदयाल सादाले पचहर्वास्थित मुसहर बस्तीमा ९० भन्दाबढी घरधुरी बसोबास गर्दै आएको बताउँदै अधिकांश परिवार दैनिक ज्याला मजदुरीमा निर्भर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरिबी, अशिक्षा र सामाजिक पछौटोपनले यहाँका समुदाय पछाडि पार्दै आएको थियो । आकस्मिक पैसाको आवश्यकता पर्दा साहुमहाजनसँग कपाली तमसुक बनाएर ऋण लिनुपर्ने बाध्यता छ तर लेखपढ गर्न नजान्दा धेरै जना अनुचित सर्तमा ऋण लिँदा ठगीमा पर्ने गरेको थियो तर अब ठगिँदैन ।”

सादाले फ्रिडम फन्ड युकेको सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले सञ्चालन गरेको प्रौढ शिक्षा कार्यव्रmमले बस्तीमा सकारात्मक परिवर्तन ल्याएको जानकारी दिनुभयो । तीन वर्षअघि सुरु गरिएको सो कार्यव्रmममार्फत यस बस्तीका ४० जना महिला साक्षर बनेको उहाँको भनाइ छ । 

सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जय साहले सहिदनगर, धनौजी र गणेशमान चारनाथ नगरपालिकामा गरी नौ वटा महिला समूह गठन गरी प्रत्येक समूहमा २० जनाका दरले प्रौढ शिक्षा प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ भन्ने अवधारणाका साथ कार्यव्रmम सञ्चालन गरेका हौँ । यसले शिक्षा, स्वास्थ्य र सामाजिक चेतनामा समेत सकारात्मक प्रभाव पार्न थालेको छ ।”

स्थानीय शैलेन्द्र यादवले मधेश प्रदेशमा अझै पनि साक्षरता दर न्यून रहनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ गाउँमा विद्यालय खुलेका छन् तर पनि सीमान्तकृत समुदायमा निरक्षरता दर उच्च छ ।” विशेष गरी महिला अझै शिक्षाबाट टाढा छन् । त्यसैले स्थानीय तहले साक्षरता कार्यव्रmम सञ्चालन गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।