• १५ चैत २०८२, आइतबार

आफन्तलाई भ्रमण लगेको आरोपमा वडा कार्यालयमा तालाबन्दी

blog

धनुषाको मिथिला नगरपालिका–५, वडा कार्यालय। तस्बिर : विजयकुमार साह

विजयकुमार साह 
ढल्केबर, चैत १५ गते ।
धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्। वडाका जनप्रतिनिधि र कर्मचारीले बजेट दुरुपयोग गरी धार्मिक तथा पर्यटकीय भ्रमणमा आफ्ना श्रीमती र आफन्तलाई लगेको आरोप लगाउँदै आइतबार स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्।

स्थानीय गणेश महतोले जनताको काम छाडेर जनप्रतिनिधि र कर्मचारीले आफ्ना आफन्त घुमाउन वडाको बजेट दुरुपयोग गरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिनुभयो। वडाको नियमित सेवा पूर्णरूपमा ठप्प पारिएको र बजेटको दुरुपयोग भएको उहाँले बताउनुभयो। स्थानीयले बजेट खर्चको पारदर्शिता र भ्रमणमा सहभागीको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै स्पष्ट जवाफ र छानबिन नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएका छन्।

वडा कार्यालयले चैत १० गते सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारी धार्मिक तथा पर्यटकीय भ्रमणमा जाने भएकाले पाँच दिनका लागि कार्यालय बन्द रहने जनाएको थियो। यता भ्रमणमा रहेका वडाध्यक्ष रामचन्द्र मण्डलले वडाका सबै जनता आफन्त नै भएको र सबै राजनीतिक दलको निर्णयअनुसार भ्रमण गरिएको बताउनुभयो।