• १५ चैत २०८२, आइतबार

नदी कटान रोक्न तटबन्ध निर्माण धमाधम

blog

म्याग्दी नदी नियन्त्रण योजनामा काम हुँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, चैत १५ गते ।
म्याग्दी नदीको कटानबाट जोखिममा परेका बेनी बजारका सरकारी कार्यालय संरक्षण गर्न थालिएको तटबन्ध निर्माणको काम अन्तिमचरणमा पुगेको छ । बेनी नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय पछाडि एक सय ६५ मिटर लामो कम्पोजिट पर्खाल निर्माण भइरहेको र हालसम्म ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले जनाएको छ ।

नदी कटानबाट उच्च जोखिममा रहेका नेपाल टेलिकम, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयको संरक्षणका लागि नदी नियन्त्रण आयोजना सञ्चालन गरिएको थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार म्याग्दी नदी किनारमा कम्पोजिट पर्खाल निर्माणका लागि पाँच करोड ९७ लाख ५० हजार ६२४ रुपियाँ कुल लागत अनुमान गरिएकोमा चार करोड २१ लाख ५९ हजार ६९९ रुपियाँमा २०८२ वैशाख १० गते ठेक्का सम्झौता भएको थियो ।  

आगामी २०८३ असार २० गतेभित्र सम्पन्न गर्नेगरी रुपल सुप्रिम कन्स्ट्रक्सनसँग आयोजनाले ठेक्का सम्झौता गरेर निर्माणको काम थालिएकोमा अहिलेसम्म योजनामा ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।

आगामी असार २० गते सम्म ठेक्काको म्याद भए पनि वैशाख महिनाभित्र योजना सम्पन्न गर्नेगरी निर्माण व्यावसायीले प्रयाप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर धमाधम निर्माणको कामलाई अगाडि बढाएको आयोजना कार्यालय पोखराका इन्जिनियर गुरुङले जानकारी दिनुभयो ।

यसैगरी, आयोजनामार्फत यसअघि सुरु गरिएका म्याग्दी र कालिगण्डकी नदी नियन्त्रण आयोजनाहरु अधिकांश सम्पन्न हुने चरणमा पुगेका छन् । बजार तथा वस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर ६ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका भएका थिए । ति योजनाहरु मध्य अहिले सम्म तीनवटा सम्पन्न भइसकेका छन् ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत कार्यान्वयन हुने उक्त योजनाहरुको कुल लागत अनुमान २० करोड २९ लाख ७६ हजार आठसय ३९ रुपियाँ छ ।

रघुगंगा गाउँपालिका ३ स्थित गायत्री मन्दिर संरक्षण र पर्वतको जलजला गाउँपालिका ३ बौरस्थित कालिगण्डकी नदी नियन्त्रण योजना सम्पन्न भइसकेका छन् ।

बेनी नगरपालिका ४ सिंगामा म्याग्दी नदी कटानबाट बस्ती संरक्षण,पर्वतको कुश्मा नगरपालिका, ४ स्थित अर्मादी र जलजला गाउँपालिकाको केन्द्र लामाखेत गरेर कालिगण्डकी नदी नियन्त्रण योजनामा कम्पोजिट पर्खाल निर्माण योजना पनि अन्तिमचरणमा पुगेको छ ।

यसैगरी आयोजनाले मुस्ताङको थासाङ,घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका विभिन्न बस्तीहरु संरक्षणका लागि सञ्चालन गरिएका योजनाहरु पनि अन्तिम चरणमा पुगेको आयोजना कार्यालय पोखराले जनाएको छ ।

यस्तै, आयोजनाले निर्वाचन पछि पहिरो तथा नदी नियन्त्रणका नयाँ आयोजनाहरु ठेक्का सम्झौता गरी कार्यान्वयनमा लगेको छ । आयोजना कार्यालय पोखराका अनुसार रघुगंगा गाउँपालिका ४ स्थित दग्नाम पहिरो नियन्त्रण योजनाको तीन करोड लागत अनुमान गरिएकोमा दुईकरोड पच्चिस लाख रुपियाँमा ठेक्का सम्झौता भएर काम अगाडि बढेको छ ।

अन्नपूर्ण गाउँपालिका ४ घराप वस्ती संरक्षण योजनाका लागि दुईकरोड रुपियाँ लागत अनुमान गरिएकोमा एककरोड ९० लाख रुपियाँमा ठेक्का सम्झौता भई निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेको छ ।

अन्नपूर्णकै वडा नम्बर ३ दानामा घट्टेखोलामा संरक्षणको काम अघि बढेको छ । उक्त योनजाका लागि एककरोड पचास लाख लागत अनुमान गरेकोमा ८७ लाख ४४ हजार रुपियाँ सम्झौता भई काम सुरु भएको आयोजना कार्यालय पोखराका इन्जिनियर गुरुङले जानकारी दिनुभयो ।

बेनी नगरपालिका ७ स्थित मंगलाघाट बजार संरक्षण योजना अन्तर्गत ९९ लाख रुपियाँमा ठेक्का सम्झौता भएर निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भई काम थालेको छ । पर्वतको जलजला गाउँपालिका ७ स्थित मिलनचोक बजार संरक्षणका लागि लुङ्गदी खोलामा तटबन्ध निर्माण योजनाको ठेक्का सम्झौता भई काम सुरु भएको छ ।

नदी कटानका कारण उच्च जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि योजना माग भएअनुसार कार्यालयबाट ती आयोजनाहरु छनोट गरी कार्यान्वयनमा लगिएको कार्यालयका इन्जिनियर गुरुङले बताउनुभयो । कार्यालयको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षण र निर्माण व्यावसायीको सक्रियताका कारण योजना सम्पन्न गर्ने मिति भन्दा अगावै आयोजनाहरु सम्पन्न हुनेगरेको उहाँले बताउनुभयो ।