• १५ चैत २०८२, आइतबार

पोखरामा जिआइएस तथा रिमोट सेन्सिङसम्बन्धी तालिम सुरु

blog

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स (स्क्याफ) नेपालको आयोजनामा पोखरामा सुरु भएको तालिमकाे उद्घाटन गरिँदै ।

पोखरा, चैत १४ गते । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स (स्क्याफ) नेपालको आयोजनामा पोखरामा चार दिने 'जिआइएस तथा रिमोट सेन्सिङ' सम्बन्धी विशेष तालिम सुरु भएको छ।

परामर्श, निर्माण क्षेत्र तथा सरकारी निकायका सरोकारवालाहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो तालिम निर्माण व्यवसाय विकास कार्यान्वयन समिति (सिबिडिआइसी) र नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) को सहकार्यमा सञ्चालन गरिएको हो।

बिहीबारदेखि सुरु भएको तालिममा परामर्शदाता इन्जिनियर, आयोजना व्यवस्थापक, प्राविधिक अधिकृत, परियोजना योजनाकार र विभिन्न सरकारी मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको छ। चैत १६ गतेसम्म चल्ने छ।

प्रविधिमैत्री पूर्वाधार विकासमा जोड पूर्वाधार परियोजनाहरू जटिल बन्दै गएको अवस्थामा समयमै सम्पन्नता, लागत नियन्त्रण र गुणस्तरीय कार्यसम्पादन सुनिश्चित गर्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको स्क्याफ नेपालले उल्लेख गरेको छ। 

तालिमले विशेषगरी भू-सन्दर्भीकरण, रास्टर विश्लेषण र भेक्टर विश्लेषणमार्फत परियोजनाको स्थानिक शुद्धता र वातावरणीय मूल्याङ्कनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

स्क्याफ नेपालले आफ्नो निरन्तर क्षमता विकास पहल अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यसले नियोक्ता, परामर्शदाता र निर्माण व्यवसायी (थ्री-सी)बिचको समन्वयलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

संस्थागत क्षमता सुदृढीकरण गण्डकी प्रदेश समिति (स्क्याफ) र पेसागत विकास तथा क्षमता निर्माण उपसमितिको संयुक्त पहलमा आयोजित यस कार्यक्रमले नेपालको परामर्श तथा निर्माण उद्योगमा दीर्घकालीन संस्थागत क्षमता विकास गर्ने लक्ष्य राखेको छ। यस्ता प्रविधिगत सुधारले आयोजना कार्यान्वयनको स्तरलाई नयाँ उचाइमा पुर्‍याउने आयोजकको दाबी छ।

स्क्याफ नेपालले देशभरका सम्बन्धित निकायहरूलाई यस्ता क्षमता विकासका कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वानसमेत गरेको छ।