• १५ चैत २०८२, आइतबार

जीर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

blog

प्वाल परेका प्यारापिट ।

विनय कर्ण 

कल्याणपुर (सप्तरी), चैत १५ गते । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जीर्ण बनेको छ ।

रङ्गशालाको प्रवेशद्वार देखि प्यारापिटसम्म जीर्ण अवस्थामा पुगेको भए पनि त्यसको जीर्णोद्धारप्रति कुनै निकायले चासो लिएको छैनन् ।

सात हजार दर्शक अटाउने क्षमताका राजरङ्गशालाको २०३६ सालमा निर्माण भएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कैयौं खेलाडी उत्पादन गर्न सफल यो रङ्गशालाको जीर्ण अवस्था हेरेर खेलाडी तथा खेलप्रेमी चिन्तित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको मुल गेटकै पुर्वपट्टी रहेको रङ्गशालाको प्रवेशद्वार जीर्ण भएर ढल्ने अवस्थामा पुगिसकेको छ । यस्तै रङ्गशालाको पूर्वतर्फ रहेको प्यारापिट पनि जीर्ण भई कुनै पनि बेला ढल्न सकिने अवस्थमा छन् । तर, देशमा तीन तहको सरकार हुँदा पनि रङ्गशालाको कायापलट हुने गरी ठोस योजना ल्याएर पुनर्निर्माण गर्न सकेको छैन् ।

धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सफल रङ्गशालाको अविलम्ब मर्मत सम्भार तथा संरक्षण हुनुपर्ने जिल्ला फुटबल सङ्घ सप्तरीका महासचिव रमेश श्रेष्ठले बताउनुभयो ।

रङ्गशाला जीर्ण भएकै कारण खेलाडीहरू अभ्यास गर्न नपाएको उहाँको गुनासो छ । “एकातिर रङ्गशाला जीर्ण भएको कारण जोखिम बढाएको छ, अर्को मैदान भित्रको फोहोर मैला पनि व्यवस्थापन हुन नसक्दा खेलाडीको अभ्यास समेत प्रभावित भएको छ” उहाँले भन्नुभयो ।

तत्कालिन सगरमाथा अञ्चलकै सदरमुकाम रहेका राजविराजको प्रतिष्ठासँग जोडिएको एेतिहासिक रङ्गशाला जोखिमपूर्ण र बेहाल अवस्थामा हुनु दुर्भाग्यपुर्ण भएको भन्दै यसको संरक्षणका लागि गम्भिर बन्नुपर्ने बताउनुहुन्छ पुर्व खेलाडी एवं सप्तरी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष अरुण प्रधान ।

सात हजार दर्शक अटाउने रङ्गशालाको प्यारापिट अहिले ठाउँठाउँमा भत्केर ठुलठुला प्वाल परिसकेको र त्यसले दुर्घट्नाको जोखिम बढाएको छ ।

रङ्गशालाको प्यारापिट मुनि वर्षौंदेखि विभिन्न व्यक्तिले कब्जा गरेर बसोवास गर्दै आएका छन् । प्यारापिटमुनिको अतिक्रम तथा संरक्षणका लागि सम्बन्धित निकायले चासो नदिँदा मैदान अहिले दिशा पिसाब गर्ने, गाई बस्तु चराउने र सवारी साधन चलाउन सिक्ने थलोको रूपमा परिणत भएको छ ।

विकासको नाममा नयाँ संरचना निर्माण भई रहँदा पुरानो संरचनाको संरक्षणतिर सरोकारबाला निकायहरूको मौनताले रङ्गशाला यो अवस्थामा पुगेको हो । जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टङ्कप्रसाद मण्डल रङ्गशालाको स्तरोन्नतिको योजना लिएर पटक–पटक राष्ट्रिय खेलकुद परिषद् तथा खेलकुद मन्त्रालयमा बजेट विनियोजनका लागि पहल गरे पनि आश्वासन बाहेक केही नपाइएको बताउनुभयो । दुई बिघा सात कट्ठा चार धुर क्षेत्रफल जग्गामा रहेको रङ्गशालाको पुनर्निर्माणका लागि आवश्यक बजेट हुँदा यो अवस्थामा पुगेको उहाँले बताउनुभयो ।