• १५ चैत २०८२, आइतबार

गङ्गासागर क्षेत्रबाट अतिक्रमित संरचना हटाउने अभियान तीव्र

blog

जनकपुरधाम, चैत १५ गते । मधेश प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गङ्गासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ ।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना हटाउन डोजर प्रयोग गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले लामो समयदेखि विवादमा रहेको गङ्गासागर क्षेत्रलाई पुनः व्यवस्थित गर्ने लक्ष्य लिएको जनाइएको छ । स्थानीय प्रशासन, प्रहरी तथा नगर प्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनावसमेत देखिएको थियो ।

गृहमन्त्री महतोले गङ्गासागर पोखरीको संरक्षण धार्मिक आस्थासँग मात्र नभई ऐतिहासिक पहिचान र पर्यटन प्रवर्धनसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकार सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर ढङ्गले प्रस्तुत हुने स्पष्ट पार्दै आवश्यक परे अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने बताउनुभयो ।

स्थानीयवासीले वर्षौँदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए । पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले भने वैकल्पिक व्यवस्थाबिना नै हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।