• १५ चैत २०८२, आइतबार

इनरुवामा नापतौल शिविर सुरु

blog

सुनसरी सदरमुकाम इनरुवामा आयोजना गरेको दुई दिवसीय नापतौल शिविरमा सेवाग्राही तथा सहभागीहरू । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, चैत १५ गते । सुनसरीको इनरुवामा उद्योग वाणिज्य सङ्घ इनरुवाको आयोजनामा दुई दिवसीय नापतौल शिविर सुरु भएको छ । 

इनरुवा उवासङ्घको कार्यालयमा दुई दिने नापतौल शिविर सञ्चालन भएको सङ्घका इनरुवा अध्यक्ष वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । आइतबार सुरु भएको शिविर सोमबार चैत १६ गते सम्म सञ्चालन हुने छ । 

व्यवसायीहरूको माग र सेवाग्राहीको हितलाई ध्यानमा राखेर गुणस्तर तथा नापतौल कार्यालय मोरङले इनरुवा उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा विभिन्न व्यापारिक क्षेत्रहरूमा पुगेर नापतौल शिविर सञ्चालन गर्दै आएकोमा इनरुवामा पनि शिविर गरेको छ । 

इनरुवा उद्योग वाणिज्य सङ्घको सहजीकरणमा भएको शिविरमा ढक, तराजु, लिटर, मिटरलगायतका नापतौलसम्बन्धी औजारहरूको चेकजाँच तथा नवीकरण गरिएको हो । शिविरमा व्यवसायीहरूलाई नापतौलको जाँच गराउन विराटनगर पुग्नुपर्ने बाध्यता हटेको सङ्घका अध्यक्ष साहले बताउनुभयो । प्रत्येक वर्ष व्यापारिक क्षेत्रहरूमा शिविर सञ्चालन गर्न कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । 

नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको नापतौलका सामग्री प्रयोगमा गरी दण्ड तथा जरिवानाबाट बच्न शिविरले उद्योगी व्यवसायीलाई सुविधा पुगेको सङ्घका उपाध्यक्ष गिरिराज अटलले बताउनुभयो । इनरुवामा दुई हजार व्यवसायी रहेका छन् ।