सिराज खान
नेपालगन्ज, चैत १५ गते । नेपालगन्जस्थित सञ्जीवनी अस्पतालले पश्चिम नेपालका बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न थप चारवटा विशिष्टीकृत सेवा विस्तार गरेको छ।
अस्पतालका प्रबन्ध सञ्चालक सन्तोष खनालका अनुसार बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको हो । थपिएका सेवामा अत्याधुनिक तरिकाले पेट तथा कलेजोको उपचार, १२ शय्याको ‘डेडिकेटेड न्युरो तथा अर्थो पुनःस्थापना केन्द्र’ र खोप सेवा रहेका छन् । उहाँले हड्डीको स्वास्थ्य जाँच गर्ने आधुनिक प्रविधि ‘डेक्सा स्क्यान’ सेवा पनि सुरु गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा अस्पतालका बोर्ड अफ डाइरेक्टर डा. एम किदवाईले नेपाल र भारतका ठुला अस्पतालमा समेत विरलै उपलब्ध हुने छुट्टै ‘डेडिकेटेड न्युरो तथा अर्थो पुनःस्थापना केन्द्र’ सञ्जीवनीले सुरु गरेको दाबी गर्नुभयो । हाल सञ्चालनमा ल्याइएका सेवाबाट यस क्षेत्रका धेरै बिरामीले न्यून शुल्कमा लाभ उठाउन सक्ने उहाँको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाईले ४० वर्ष उमेर पार गरेका सबैलाई आफ्नो हड्डीको स्वास्थ्यप्रति सचेत रहन अनुरोध गर्दै आवश्यकता परेमा डेक्सा स्क्यान सेवा लिन सुझाव दिनुभयो । उहाँले केही समयका लागि यो सेवामा १५ प्रतिशत छुट उपलब्ध गराइएको पनि बताउनुभयो ।
पेट तथा कलेजो रोग विशेषज्ञ डा. गौरव श्रेष्ठले अब यस क्षेत्रका पेट तथा आन्द्राबाट रगत बग्ने, दीर्घकालीन झाडापखाला र बारम्बार वान्ता हुने जस्ता समस्याको विशिष्टीकृत उपचार अस्पतालबाटै हुने जानकारी दिनुभयो ।
वरिष्ठ कन्सल्टेन्ट न्युरो सर्जन डा. मनिष कोलाक्षपतिले अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहित सुरु गरिएको सेवाबाट स्ट्रोक, पक्षघात, स्पाइनल इन्जुरी, नसा सम्बन्धी समस्या, हड्डी भाँचिने र जोर्नी दुखाइबाट पीडित बिरामीको विशेष उपचार गरिने बताउनुभयो ।
सेवा विस्तार कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख कुमार अधिकारी, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका प्रशासकीय प्रमुख रामबहादुर हमाल लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।