• १५ चैत २०८२, आइतबार

काठमाडौँमा राष्ट्रिय शिक्षा संवाद : व्यवहारिक र सीपमूलक शिक्षामा जोड

blog

काठमाडौँ, चैत १४ गते । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) को आयोजनामा ‘राष्ट्रिय शिक्षा संवाद–२०८२’ नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको छ । प्यानका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विविध पक्षमा गहन बहस र नीतिगत सुझाव प्रस्तुत गरिएका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, शिक्षा मन्त्रालयका उच्च पदाधिकारी, पूर्वशिक्षा सचिव, शिक्षाविद् र सञ्चारकर्मीको सहभागिता थियो । प्यानका उपाध्यक्ष टीकाराम पाण्डे र कोषाध्यक्ष रीता तिवारीले अतिथिलाई स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन उपमहासचिव मीन आच्छामीले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक, प्रविधिमैत्री र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नीति धेरै छन् तर कार्यान्वयन प्रभावकारी छैन । अब सबै सरोकारवालाबीच सहकार्य गर्दै शिक्षालाई समयअनुकूल रूपान्तरण गर्नुपर्छ ।”

संवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धर्म केसीले शिक्षालाई प्रमाणपत्रमुखी मात्र नभई जीवनोपयोगी र सीपमूलक बनाउनुपर्ने बताउनुभयो । नेकपा (एमाले) का सांसद ऐन महरले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारी स्पष्ट नहुँदा कार्यान्वयनमा समस्या आएको उल्लेख गर्नुभयो । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सामुदायिक विद्यालयको सुदृढीकरणमा जोड दिनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलीले शिक्षालाई राष्ट्रिय पहिचानसँग जोड्नुपर्ने धारणा राख्नुभयो । श्रम संस्कृति पार्टीका आर्यन राईले श्रममा आधारित शिक्षाको आवश्यकता औँल्याउनुभयो ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले सरकारले नीतिगत सुधारका लागि पहल गरिरहेको जानकारी दिनुभयो । शिक्षाविद् विद्यानाथ कोइरालाले सैद्धान्तिक शिक्षाको सट्टा स्थानीय आवश्यकता अनुसारको सीपमूलक शिक्षामा जोड दिनुभयो । पूर्वशिक्षा सचिव महाश्रम शर्माले नीतिको निरन्तरता नहुँदा अस्थिरता बढेको बताउनुभयो ।

कार्यक्रमको डिजिटल पार्टनरका रूपमा ‘टिचर्स को–पाइलट’ रहेको थियो, जसले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत शिक्षकलाई प्रविधिमैत्री बनाउन सहयोग पुर्‍याउँदै आएको छ । प्यानका वरिष्ठ उपाध्यक्ष हेरम्ब कँडेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त संवादबाट प्राप्त सुझावलाई सरकार र सम्बन्धित निकायमा पेस गरिने प्यानले जनाएको छ ।