• १५ चैत २०८२, आइतबार

मेघा कलेजलाई बास्केटबल उपाधि

blog

उपाधि विजेता टोली ।

निशा राई

धरान, चैत १५ गते । धरान उपमहानगरमा लागु औषधविरुद्ध जनचेतनाका लागि भएको प्रदेश स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा कलेजले चुमेको छ ।

धरान–१६ स्थित रङ्गशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न खेलमा मेघा कलेजले हिमशिखर कलेज तरहरालाई १७–१५ स्कोरको अन्तरले पछि पार्दै उपाधि जितेको हो । 

केवाइसी पुनर्जीवन केन्द्रले लागु औषधविरुद्ध जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको उक्त बास्केटबल प्रतियोगितामा हिमशिखरले होलील्यान्ड स्कुललाई र धरान मेघा कलेजले सुनाखरी स्कुललाई हराउँदै फाइनलमा पुगेको थियो । 

विजेता मेघा कलेजले उपाधिसँगै २५ हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता हिमशिखर कलेजले नगद १३ हजार रुपियाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मेघा कलेजको एन्जेस राई र उत्कृष्ट खेलाडी प्रशान्त तामाङ हुनुभयो । 

प्रतियोगितामा प्रदेशभरिका १३ वटा विद्यालयहरूले सहभागिता जनाएको सिनियर रेफ्री तथा जिल्ला बास्केटबल सङ्घका सहसचिव युगल लिम्बूले जानकारी दिनुभयो  ।