काठमाडौँ, चैत १५ गते । देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घनामा पाँच जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महोत्तरीको, सोनमा गाउँपालिका–५, खैरबनी गाउँमा मोटरसाइकल एक आपसमा ठोक्किँदा सोही गाउँपालिका–४, खेस्राहाका १९ वर्षीय रामजीवन साहको मृत्यु भएको हो ।
यसैगरी, गुल्मीको चन्द्रकोट गाउँपालिका–४, रिपास्थित सडकमा चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेकोे जिपको ठक्करबाट सोही स्थानकी ५५ वर्षीया तुलसी थापाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, एघारघुम्तीमा काठमाडौँबाट हेटौँडातर्फ गइरहेको जिप उदयपुरको त्रियुगा नगरपालिका–११, सङ्गमचोक निवासी ८६ वर्षीय गोरे राईको ठक्करबाट मृत्यु भएको छ ।
समाचारकक्षले आज प्रकाशन गरेको समाचार बुलेटिन अनुसार सिराहाको धनगढीमाई नगरपालिका–६ मा मुसर्नियाबाट दहीपुरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पैदलयात्री सोही स्थानकी उर्मिलादेवी महतो साँझ मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१२, आस्थाचोकमा मोटरसाइकल दुर्घटना हुँदा तनहुँको रिसिङ गाउँपालिका–३ का २१ वर्षीय टोनबहादुर आले मगरको मृत्यु भएको छ । रासस