• १५ चैत २०८२, आइतबार

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

blog

मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्ती स्थित सडक खण्डमा दुर्घटना भएको हाइस गाडी । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, चैत १५ गते ।
मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र चार जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्तीस्थित सडक खण्डमा हाइस गाडी दुर्घटनामा परी उदयपुर जिल्ला त्रियुगा नपा ११ गाईघाटका वर्ष ८६ का गोरे राईको मृत्यु र तीन जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार राईको हेटौँडा अस्पताल मकवानपुर उपचारको क्रममा चिकित्सकले शनिबार १ः२१ बजेको समयमा मृत्यु घोषणा गर्नुभएको हो ।

राई गाडी ब्रेक फेल भई गाडीबाट हाम फाल्दा सोही गाडीको पछाडको टायरले कुल्चिएर टाउकोमा चोटलागेको र अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल लगिएको थियो छ ।

काठमाडाँैबाट हेटौँडाका लागी आउँदै गरेको बा ३ ख ७८७६ नं.को हाईस गाडी शनिबार बिहान दुर्घटना भएको थियो ।

उक्त गाडी ब्रेक फेल भई सडकको भित्तामा ठोक्किन गई दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

घाईते हुनेहरुमा उदयपुर जिल्ला त्रियुगा नपा ११ गाईघाटकी ६२ वर्षीया हर्क माया राई, त्रियुगा नपा १० गाईघाटका वर्ष ३५÷४० शम्भु कटुवाल र सिन्धुली जिल्ला दुधौली नपा १० का २१ वर्षीय दीपक बुढाक्षेत्री रहनुभएको छ ।

सवारी चालक उदयपुर जिल्ला त्रियुगा नपा ११ का ५० वर्षीय गणेश खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबिच, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गापा १ खोप्लाङस्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा १२ सिक्रेनीका ५३ वर्षीय श्यामबहादुर अधिकारी घाइते हुनुभएको छ । त्रिखण्डीबाट पिकनिक खाई हेटौँडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ५२६ नं.को मोटरसाइकल शनिबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भई अचेत भएका अधिकारीको हेटौँडा अस्पतालमा उपचारपछि  थप उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।