रेखीराम राना
तानसेन, चैत १५ गते । पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा समीरमान सिंह निर्वाचित हुनुभएको छ । सिंहले उहाँका निकटतम प्रतिस्पर्धी शैलेन्द्र भट्टराईलाई पराजित गर्नुहुँदै विजयी हुनुभएको हो । शनिबार भएको मतदानपछि भएको अन्तिम मतगणनामा सिंहले ५७९ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत टंक पन्थले जानकारी दिनुभयो । भट्टराईले भने ५११ मत ल्याउनुभएको छ । यसअघिको कार्यसमितिमा भट्टराई अध्यक्ष र सिंह महासचिव रहनुभएको थियो ।
यस्तै, सङ्घको वाणिज्य उपाध्यक्षमा रन्जना थापा अर्याल निर्वाचित हुनुभएको छ । उहाँले ५३१ मत पाउनुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी सुरेन्द्र कर्माचार्यले ३३६ मत ल्याउनुभएको थियो । अध्यक्ष, वाणिज्य उपाध्यक्षसहित अन्य पाँच क्षेत्रको सदस्य पदका लागि निर्वाचन भएको थियो ।
यस्तै, सदस्य पदमा क्षेत्र नं. ११ बाट कमल पाण्डेय र जीवन पाण्डेय निर्वाचित हुनुभएको छ । यस्तै, क्षेत्र नं. १० मा विदुर घिमिरे र सुरेश गोदार निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पन्थले जानकारी दिनुभयो । सङ्घको सदस्य पदका लागि क्षेत्र नं. ७ बाट मोहनबहादुर कुँवर र सविन मल्ल निर्वाचित हुनुभएको छ । क्षेत्र नं. ४ बाट नारायण पछाई र नारायण न्यौपाने र क्षेत्र नं. ३ बाट विनोद नेपाल र विश्व केसी निर्वाचित हुनुभएको छ ।
उद्योग उपाध्यक्षसहित अन्य १३ पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको थियो । सङ्घको उद्योग उपाध्यक्षमा माधव जिसी निर्विरोध निर्वाचित हुनुभएको थियो । सङ्घको अध्यक्षसहित २५ पदाधिकारी रहने व्यवस्था रहेको छ । निर्वाचित अध्यक्षले महासचिव र कोषाध्यक्षसहित सदस्य मनोनित गर्ने विद्यानमा व्यवस्था रहेको नवनिर्वाचित अध्यक्ष सिंहले बताउनुभयो । निर्वाचित भएपछि अध्यक्ष सिंहले पाल्पाको उद्योगी व्यावसायीहरूको हित र जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन काम गर्ने बताउनुभएको छ ।