• १५ चैत २०८२, आइतबार

‘पत्रकारिताबाट समस्या पहिचान राजनीतिबाट सम्बोधन’

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत १५ गते । निकटतम प्रतिस्पर्धीभन्दा चार गुण बढी मत पाएर उत्तमप्रसाद पौडेलले प्रतिनिधि सभाको संसद् यात्रा तय गर्नुभएको छ । कास्की क्षेत्र नम्बर २ मा ५२ हजार ५१९ मत खसेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलको भागमा ३१ हजार ९११ मत पर्‍यो । जुन कुल सदर मतको ६० प्रतिशत हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रश्मी आचार्यले सात हजार ४९३ मतमै सीमित हुनुभयो । अघिल्लो निर्वाचनमा पाँचदलीय गठबन्धनलाई एक्लै पराजित गरेको एमाले यसपालि कास्कीमा जितविहीन बन्यो ।

करिब दुई दशक पत्रकारितामा क्रियाशील रहनुभएका पौडेलको परिवार नै राजनीतिमा लागेको छ । उहाँका बुवा चिरञ्जीवीप्रसाद उपाध्याय कास्कीको साबिक देउरालीगाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । त्योबेला घरमा हुने उत्सव, सुखदुःखमा बुवाले गर्ने व्यवहार, छलफल देखेर उहाँलाई बाल्यकालबाटै राजनीतिले तानेको थियो । आमा २०५१ सालको मध्यावधि निर्वाचनमा राष्ट्रिय जनता परिषद्बाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार हुनुहुन्थ्यो । कुनै बेला रास्वपा सभापति रवि लामिछानेसँगै टेलिभिजन पत्रकारितामा सक्रिय पौडेल अहिले पत्रकारिता छाडेर राजनीतिको औपचारिक यात्रामा अघि बढ्नुभएको छ । 

अनेकौँ समस्याले आक्रान्त जनताको अवस्था फेर्न लाग्ने उहाँले वाचा लिनुभयो र राजनीतिमा लाग्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनबिना देशको कायापलट गर्न सम्भव नहुने उहाँको भनाइ छ । त्यसका लागि यी क्षेत्रमा राज्यले विशेष लगानी गर्नुपर्ने, सरकारी क्षेत्रमा हुने भ्रष्टाचार र बेथितिलाई जरैदेखि उखेल्नुको विकल्प नभएको उहाँको ठम्याइँ छ । 

पौडेल भन्नुहुन्छ, “पत्रकारितामार्फत मैले बेथितिका विरुद्ध आवाज उठाएको थिएँ । बेथिति चिनेँ । अब संसद् पुगेर ती समस्या समाधानका लागि कानुन निर्माणमा लाग्छु ।” सर्वत्र छाएको निराशालाई आशमा बदल्नु मुख्य चुनौती भएको उहाँको ठम्याइ छ ।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरका ११ वटा वडा पर्छन् । पछि महानगरमा गाभिएका वडा दुर्गम र ग्रामीण छन् । ती वडाका बासिन्दालाई महानगरवासीको अनुभूति दिलाइने उहाँको प्रतिबद्धता छ । सहकारी पीडित र भूमिहीनका समस्यालाई विशेष प्राथमिकता दिने पौडेलको प्राथमिकतामा परेका छन् । उहाँ भन्नुहुन्छ, “हामी राज्यकोष सक्ने आयोग मात्र बनाउनतिर लाग्दैनौँ, अरूले आश्वासन दिए वास्तविक भूमिहीनको घरमा लालपुर्जा लिएर आउँछौँ ।” 

देशमा केही हुँदैन, बर्बादीको दिशामा गयो भन्ने भाष्य चाँडै फेरिने उहाँले दाबी गर्नुभयो । विजय भएपछि सांसद पौडेलले भन्नुभयो, “देश बन्छ, हाम्रै पालामा बन्छ, सबै नागरिकको साथ लिएर हामी बनाउँछौँ । सबैले हाम्रो अभियानमा सहयोग गर्नु पर्छ ।”