• १५ चैत २०८२, आइतबार

यसवर्ष हुम्लामा एसइई परिक्षार्थीको संख्या वृद्धि

blog

मानसरोवर नमूना मावि केन्द्रमा गत वर्ष एसइई परीक्षा दिँदै परीक्षार्थीहरू। फाइल तस्बिर

राजन रावल
हुम्ला, चैत १५ गते ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी परिक्षार्थीको संख्या गत वर्षको तुलनामा बढेको छ। गत वर्षको एसइई परिक्षामा सहभागी परिक्षार्थीको संख्याभन्दा करिब १९६ जना बढी परीक्षार्थी यसवर्ष परीक्षा दिन उपस्थित हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सविता उपाध्यायले बताउनुभयो।

यस वर्ष कुल १३ सय विद्यार्थीले परीक्षा दिने भएको छ भने गत वर्ष संख्या ११ सय ४ जनाले एसइई परीक्षा दिएका थिए। यसमा नियमिततर्फ ५१८ छात्र र ४७९ छात्रा गरी ९९७ जना परिक्षार्थी रहेका छन् भने पूरक तथा ग्रेडवृद्धि परीक्षामा १२४ छात्र र १७९ छात्रा गरी ३०३ जना सहभागी हुनेछन्। यी परीक्षार्थीहरू साधारण र प्राविधिक धारामा विभाजित छन्।

एसइई परीक्षा चैत १९ गतेबाट सञ्चालन हुने भएकाले परीक्षा केन्द्र तोक्ने कार्य पहिले नै सम्पन्न भएको छ। परीक्षा केन्द्रमा प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइने व्यवस्था छ। यस वर्ष हुम्लामा सिमकोट गाउँपालिका – बालमन्दिर मावि, सिमकोट, मानसरोवर नमूना मावि, मानसरोवर सर्केगार्ड गाउँपालिका – हिमज्योति मावि सर्केगार्ड,सर्केगार्ड गाउँपालिका – कोट मावि रोडिकोट, अदनचुली गाउँपालिका – सुर्योदय मावि श्रीनगर, ताँजाकोट गाउँपालिका – मदानादेव मावि ताँजाकोट र खार्पुनाथ गाउँपालिका – सीता मावि, छिप्रा गरी सात वटा परीक्षा केन्द्र तोकिएको छ।

नाम्खा गाउँपालिका (१ मावि) र चङ्खेली गाउँपालिका (२ मावि) मा हाल परीक्षा केन्द्र छैन। उत्तर पुस्तिका परीक्षा केन्द्रमा पुगेको छ र प्रश्नपत्र केही दिनभित्र उपलब्ध हुने व्यवस्था मिलाइएको छ।