• १५ चैत २०८२, आइतबार

नहर छ, पानी छैन

भेरी–बबई डाइभर्सन कुर्दै किसान

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), चैत १५ गते । बर्दियाका किसान यतिबेला सिँचाइका लागि नहर होइन, पानी खोजिरहेका छन् । हजारौँ हेक्टर खेत सिँचाइ गर्ने लक्ष्यसहित निर्माण भइरहेको बबई सिँचाइ आयोजनाको नहर संरचना विस्तार भइरहे पनि हिउँदयाममा पानी अभावका कारण किसान मर्कामा परेका छन् । नहर बनेका छन् तर पानी नआउँदा किसान खाली नहर हेरेर बस्न बाध्य छन् ।

बबई सिँचाइ आयोजनाले ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । हिउँदको समयमा बबई नदीमा पानीको मात्रा अत्यन्त न्यून हुँदा नहरमा पर्याप्त पानी पुग्न सकेको छैन । 

आयोजनाका अनुसार सम्पूर्ण क्षेत्रमा सिँचाइका लागि करिब ५७ क्युमेक (प्रतिसेकेन्ड हजार घनमिटर) पानी आवश्यक पर्छ तर हिउँदमा नदीमा जम्मा पाँच क्युमेक पानी मात्र उपलब्ध हुन्छ । त्यसमा पनि एक क्युमेक पानी जलचर तथा वन्यजन्तुका लागि छुट्याइँदा बाँकी चार क्युमेक पानीले मात्रै सिँचाइ धान्नुपर्ने अवस्था छ ।

यसले गर्दा हिउँदेबाली सिँचाइमा ठुलो समस्या देखिएको बबई सिँचाइ आयोजना पूर्वी सेक्टर जल उपभोक्ता संस्थाका अध्यक्ष गोविन्दप्रसाद थारू बताउनुहुन्छ । “नहर बने पनि पानी नहुँदा किसान ट्युबेल र बोरिङकै भरमा छन्,” उहाँले भन्नुभयो, “पानी अभावकै कारण चैते धान खेती गर्न सकिएको छैन । भेरी–बबई डाइभर्सनको पानी नआएसम्म यो समस्या समाधान हुँदैन ।”

२०४५ सालदेखि सुरु भएको बबई सिँचाइ आयोजना पटक पटक समय थपिँदै आएको छ । सुरुमा आर्थिक वर्ष २०८२/८३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समयमै काम नसकिएपछि आव २०८५/८६ सम्म सम्पन्न गर्ने गरी गुरुयोजना संशोधन गरिएको छ । आयोजनाको कुल लागत पनि बढेर २६ अर्ब रुपियाँ पुगेको छ, जसमा हालसम्म करिब १८ अर्ब खर्च भइसकेको छ ।

हालसम्म आयोजनाबाट २८ हजार हेक्टर क्षेत्रमा सिँचाइ पुगेको दाबी गरिएको छ । भौतिक प्रगति ७७.५७ प्रतिशत पुगे पनि वित्तीय प्रगति भने ६०.२४ प्रतिशत मात्रै रहेको आयोजना निर्देशक गोपाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा ठेक्का लागेका काम जारी रहे पनि चालु आवमा बजेट सुनिश्चित नहुँदा नयाँ ठेक्का प्रकिया अघि बढ्न सकेको छैन । “पर्याप्त बजेट उपलब्ध भएमा गुरुयोजना अनुसार काम समयमै सम्पन्न गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

पूर्वी मूल नहरतर्फ ३४.५ किलोमिटर निर्माणसम्पन्न भइसकेको छ भने पश्चिमी मूल नहरको ४१.४ किलोमिटरमध्ये ३१.७ किलोमिटर निर्माण भइसकेको छ । त्यस्तै ४०२.६२ किलोमिटर शाखा नहरमध्ये ३२४.५ किलोमिटर निर्माण पूरा भइसकेको आयोजनाले जनाएको छ ।