• १५ चैत २०८२, आइतबार

घाइते मिना सदाय उपचारबाट वञ्चित

blog

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको लहान–१ की मिना सदाय । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, चैत १५ गते ।
लहान नगरपालिका–१ की २५ वर्षीया मिना देवी सदाय मोटरसाइकलको ठक्करबाट घाइते भए पनि उपचार खर्च अभावमा उपचारबाट वञ्चित हुनुभएको छ।

बिहीबार आफ्नै घरअगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले उहाँलाई ठक्कर दिएपछि चालक फरार भएको थियो। पानी लिन जाँदै गर्नुभएको मिनालाई तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा उहाँको मस्तिष्कमा चोट लागेर रगत जमेको तथा कानको जाली फुटेको छ।

परिवारका अनुसार घाइते उहाँलाई लहानस्थित रामकुमार शारडा उमा प्रसाद अस्पतालमा लगिएको थियो। तर टाउकोमा गम्भीर चोट लागेको भन्दै त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई विराटनगरस्थित कोशी अस्पताल रिफर गरिएको थियो।

गाउँमा चन्दा सङुकलन गरेर एम्बुलेन्समार्फत विराटनगर पुर्‍याइएकी मिनाको कोशी अस्पतालमा सिटी स्क्यान गरिएको थियो। चिकित्सकले मस्तिष्क र कानको शल्यक्रियाका लागि करिब तीन लाख रुपियाँ आवश्यक पर्ने बताएपछि रकम अभावका कारण उहाँलाई पुनः घर फर्काएर राख्न बाध्य भएको परिवारले जनाएको छ।

“उपचार खर्च जुटाउन नसकेर दुई दिनदेखि घरमै राखेका छौँ,” उहाँकी देवरानी मञ्जु सदायले बताउनुभयो।

मिनाको उपचारका लागि सहयोग जुटाउन परिवारले चन्दा सङ्कलन गरिरहेको छ। इलाका प्रहरी कार्यालय लहान, वडा कार्यालय र नगरपालिकासँग सहयोगका लागि आग्रह गरे पनि अहिलेसम्म पर्याप्त सहयोग नपाएको गुनासो परिवारको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी उपरीक्षक कैलाश राईले दुर्घटनामा संलग्न मोटरसाइकल चालकको खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको जानकारी दिनुभयो।

मानवअधिकारकर्मी राजकुमार राउतले घाइते मिना सदायको उपचारका लागि स्थानीय सरकार, प्रहरी प्रशासन तथा सरोकारवाला निकायले तत्काल पहल गर्नुपर्ने बताउनुभएको छ। साथै दुर्घटनामा संलग्न चालकको खोजी गरी कानुनी दायरामा ल्याउनसमेत उहाँले माग गर्नुभएको छ।