नवीनराज कुइँकेल
लमजुङ, चैत १५ गते । खानेपानी आपूर्तिका लागि प्रयोग भइरहेको लिफ्टिङ प्रणाली बिग्रँदा लमजुङको मध्यनेपाल नगरपालिका–२ तान्द्राङटक्सारको माथिल्लो क्षेत्रका करिब पाँच सय उपभोक्ताले खानेपानी अभाव भोग्नु परेको छ।
आयोजनाको सोलार प्रणाली र पानी तान्ने मोटर बिग्रँदा मुहानबाट पानी ट्यांकीसम्म ल्याउन नसकिएको र गाउँमा हाहाकार सिर्जना भएको स्थानीय वालविकास माविका शिक्षक शिव खनालले जानकारी दिनुभयो। प्रभावित वस्तीमा रातमाटा, शेरा, कमेरेगाउँ, मल्लस्वाँरा, कमरगाउँ र धार्दी पौडेलगाउँ लगायतका पुरानो पञ्चायतघर माथिका क्षेत्र पर्छन्।
गाउँले अहिले कुवा, जौपानी र पुराना पँधेरोबाट पानीको जोहो गरिरहेका छन्। पानीको अभावले घरायसी कामकाज, सरसफाई र पशुपालनमा समस्या आएको छ भने विद्यालयमा पनि असर परेको छ।
आयोजना अन्तर्गत धुन्द्रेखोला मुहानबाट पानीलाई सोलार र बिजुली मोटरबाट ढलेपिपलस्थित ट्यांकीमा जम्मा गरिन्छ र त्यसबाट पुनः रातमाटा वितरण ट्यांकीमा पठाइन्छ। २०७२ सालमा सम्पन्न सो योजना, समयमै मर्मत नहुँदा उपभोक्तालाई कठिनाइ भएको जाल्पादेवी खानेपानी योजनाका अध्यक्ष मनु गिरीले बताउनुभयो।
उपकरणमा समस्या आउँदा प्राविधिक जनशक्ति अभाव, बजेट सीमितता र अन्य व्यवस्थागत कठिनाइले नियमित पानी आपूर्ति गर्न कठिनाइ रहेको उहाँले उल्लेख गर्नुभयो। बसाइसराइका कारण उपभोक्ताको संख्या घट्नु, शुल्क संकलनमा कठिनाइ र युवा जनशक्ति अभाव जस्ता कारणले योजना नियमित सञ्चालनमा चुनौती थपिएको छ।