• १४ चैत २०८२, शनिबार

भृकुटी–अरनिको ओकु–बाहा कि कुर्पासी

blog

फ्रान्सेली इतिहासकार प्रो. सिल्भा लेभीले तिब्बतको इतिहासबाट राजकुमारी भृकुटीलाई अंशुवर्माकी छोरी जस्तो इङ्गित गरेका तथा पाटनमा तीन/चार सय वर्ष पहिलेदेखि ढलौटको काम हुने भएको हुँदा अरनिको पाटनमा जन्मेका हुन सक्ने भनाइले इतिहासकारहरू अलमलिए । दुवै विभूतिका बारे इतिहासकार र लेखकहरूले आआफ्नै ढङ्गले प्रस्तुति गरे, जुन यसप्रकार छ :

हटाइयो राष्ट्रिय विभूति 

इतिहासकार बाबुराम आचार्य र डिल्लीरमण रेग्मीले प्रो. सिल्भा लेभीको मतलाई मौन समर्थन गरेका छन् । भुवनलाल प्रधानले भने विसं २०२० असोज २१ को गोरखापत्रमा भृकुटी अंशुवर्माकी होइन, उदयदेवकी छोरी भएको स्पष्ट गरे । सातौँ शताब्दीका युगान्तकारी भृकुटी–तिब्बतीमा ‘बल–मो–बजा खि–बतसुन’ (नेपाली चेली) बारे प्राचीन तिब्बती ग्रन्थ मणिकाबुमले पनि उनका पिता राजा उदयदेव भएको सङ्केत गर्छ ।

विसं २०१२ मा नाट्यकार बालकृष्ण समको अध्यक्षतामा भृकुटीलाई राष्ट्रिय विभूति घोषणा गरियो तर विद्यालयका पाठ्यपुस्तकहरूमा चाहिँ उनलाई अंशुवर्माकी छोरी भनेर गैरजिम्मेवार रूपमा प्रस्तुत गरियो । विसं २०७४ मा नेपाल सरकारद्वारा गठित राष्ट्रिय विभूति समितिले भृकुटीको ठोस प्रमाणको खोजीमा ‘भृकुटी’ नामको शिलालेख माग ग¥यो । 

भृकुटी स्मृति प्रतिष्ठानले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा सन् ६२४ मा भद्रावतीको कोखबाट जन्मिएका उदयदेवकी छोरी र नरेन्द्रदेवकी बहिनी भनी यसप्रकार ठोकुवा गरेको छ :

किराँतकालदेखि नै कुर्पासी चीन–भारत व्यापारको केन्द्र थियो, जहाँ चोकपारा (कर) लगाइन्थ्यो । किराँतहरू गोकर्ण सरेपछि व्यापार व्यवस्थापनमा मगधबाट ल्याइएका ठकुरी प्रशासकलाई कुर्पासीको प्रशासन सुम्पिइयो । छैटौँ शताब्दीमा लिच्छवि राजा शिवदेव प्रथम सत्तामा आएपछि मगधी गुप्ताहरूको दबाब बढ्यो । त्यसपछि राजाले कुर्पासीका सामन्त अंशुवर्मालाई ज्वाइँ बनाए र राजकुमार उदयदेव र भद्रावतीलाई शासनकला सिकाउन कुर्पासी पठाए । 

गुप्ताहरूको षड्यन्त्रबाट सत्ता जोगाउन शिवदेवले अंशुवर्मालाई नायबी दिए । मानगृह पुगेपछि खोपासीको प्रशासन अंशुवर्माका विश्वासपात्र कलाकार–कर्मी पहरीहरू (?) कहाँ गएको मानिन्छ । सन् ६०५ मा शिवदेवको मृत्युपछि उदयदेवको कमजोरी र गुप्त प्रभाव देखेर अंशुवर्मा स्वयं राजा घोषित भए । उनले सन् ६०८ मा हाँडीगाउँ क्षेत्रतिर कैलाशकुट भवन निर्माण गराए । सन्तान नभएकाले सन् ६१३ मा उदयदेवलाई पुनः युवराज घोषणा गरे ।

सन् ६२१ मा अंशुवर्माको निधनपछि उदयदेव राजगद्दीमा बसे तर दुर्बल शासनका कारण सन् ६२३ मा जिष्णु गुप्ताले ध्रुवदेवको सहयोगमा उनलाई सत्ताच्युत गरे । ध्रुवदेवलाई कैलाशकुटमा राजा बनाइदिए भने जिष्णु गुप्ताले मानगृहबाट नायबी शासन चलाए । लगनको मञ्जुश्रीटोलमा अवस्थित माइतीघरमा भृकुटी, निर्वासित रानी भद्रावतीको कोखमा आइन् । असफल विद्रोहपछि उदयदेव परिवारसहित भक्तपुर हुँदै कुर्पासी पुगे र पहिले बसोबास गरेको अंशुवर्माको निवासमा आश्रय लिए । निर्वासित राजा उदयदेवले आफ्ना भाइ राजा ध्रुवदेव र नायबी राजा जिष्णु गुप्ताका मातहत कैलाश (तत्कालीन प्रशासनिक भवन) मा बसेर काम गरेको देखिँदैन । कुर्पासीको निर्वासित समय सन् ६२४ (विसं ६८०, माघेसङ्क्रान्ति) का दिन भृकुटी जन्मिइन् ।

भृकुटीको विवाह प्रसङ्ग

उता तिब्बतमा सन् ६३० मा तान्त्रिक बुद्धिस्ट स्रङचङ गम्पो सम्राट्का रूपमा आए । नेपालमा शाक्यमुनि गौतम बुद्धको बयान सुनेका उनले तन्त्र विद्याबाट आफूलाई सुहाउने धर्मपत्नी नेपाल राजकुलका भृकुटी कुर्पासीमा जन्मेको जानकारी पाए । सन् ६३२ मा भृकुटी माग्न तथा लिन सम्राट्ले आफ्ना दूतहरूको टोली पठाएका थिए । मुख्यमन्त्री गार टुङ्गसेन युल्सुङ र मन्त्री थोमनी साम्भोटाको नेतृत्वमा करिब सय जना जतिको विवाह प्रतिनिधिमण्डलले कुर्पासीमा निर्वासित राजा उदय देवसँग भेट ग¥यो । राजा उदयदेवले सम्राट्का दूतहरूको अनुरोध स्वीकार गरेका थिएनन्, अन्ततः बाध्यतावश स्वीकार गरेका थिए ।  

तिब्बती पुस्तक मणि काबुङ्गबाट इतिहासविद् ज्ञानमणि नेपालले लेखे अनुसार भृकुटीलाई पूजा गर्नका लागि साङ्गे (बुद्ध), मैत्रेयको चक्र, चेन्तेनको डोल्मा (तारा), भती साङ्गपो, इन्द्रले पूजा गर्ने आठ वर्षका शाक्यमुनि बुद्धको मूर्ति, बुद्धको अस्तु, भत्ती साङ्गपो, आफैँ उत्पत्ति भएको चन्दनको तारा पनि दिइएको थियो । खोपासीका पहरी जातका कलाकारले बनाएका सुन, चाँदी, तामा आदि धातु तथा काठ, बाँस, निगालो र कपडामा विभिन्न हिन्दु र बौद्ध धर्म झल्कने कलाकृतिसहितका प्रशस्त सामग्रीलाई सात बाक्सा खजाना साथमा बुद्धको जीवनचक्रसहितका सात वटा झल्लरी छातासहित सात वटा हात्तीमा दाइजो राखेर बिदाइ गरिएको थियो । दाइजोको उचित व्यवस्थापन तथा बौद्ध चैत्यहरू बनाउन भृकुटीका सुसारेहरूका अलावा पहरी कलाकार र कालिगडहरू पनि दाइजोमा पठाइएको थियो । 

मैतालु यात्रा

छोरी भृकुटी बिदाइ गरेको केही समयपछि नै स्थानीय पहरीहरूको साथ र सहयोगमा उदयदेव आफ्नी श्रीमती भद्रावती र छोरा नरेन्द्र देवसहित ज्वाइँको शरणमा पर्न ल्हासा गए । उनीहरू ल्हासा पुग्दा भृकुटीको स्रङचङ गम्पोसँग विवाह भइसकेको थियो । 

नरेन्द्रदेवले सम्राट् स्रङचङ गम्पोको सहयोगमा सन् ६४३ मा काठमाडौँको अधिकार पुनः प्राप्त गरे । निर्वासित उदयदेव नेपाल फर्किएनन् । सन् ६५२ मा तिब्बतमै उनको निधन भयो । बाबुआमाको मृत्युपछि सन् ६५० को दशकतिर कोदारी हुँदै नेपाल आई भृकुटीले दाजुलाई भेटिन् । कैलाशकुट भवन मन नपरेपछि उनको सुझावमा आमाको नामबाट ‘भद्राधिवास’ दरबार सन् ६६० को दशकतिर बनेको मानिन्छ । यसको स्थान भक्तपुर हुन सक्ने र यो अझै अनुसन्धानको विषय रहेको छ ।

आठ वर्षकै उमेरमा भृकुटीले मुग्लान पुगेर आफ्ना कलाकौशलमार्फत शाक्यमुनि बौद्ध धर्मको प्रचार गरी शान्तिको वातावरण निर्माण गरिन् । युद्ध र अशान्ति अन्त्यमा योगदान पु‍¥याएकै कारण जनताले उनलाई ‘हरित तारा’ का रूपमा पुज्न थाले । उनको सन्देश चीन, दक्षिण एसिया हुँदै संसारभर फैलियो । यसबाट बाल्यकालमै शान्ति र बुद्धमय संस्कृतिले शिखर छोएको सङ्केत गर्छ ।

आठौँ शताब्दीमा आदिगुरु शङ्कराचार्यले भारत तथा नेपालका करिब शतप्रतिशत बौद्ध सम्पदा तथा सम्प्रदाय नष्ट गरेका थिए । नेपालमा पहाडको पहिलो सिकार कुर्पासीको बौद्धमय कैलाश (दरबार) र अमिताभ चैत्य रह्यो तर हिमाल पार गरेर जान नसक्दा तिब्बत तथा चीनमा फैँलिएको बौद्ध सम्पदा र सम्प्रदाय सुरक्षित रह्यो । यसले गर्दा नेपालको शाक्यमुनि बौद्ध सम्पदाको पहिचान र प्रचारप्रसारमा सहजीकरण भएको छ । भृकुटीले लगेको दाइजो तथा तत्कालीन पहरीहरूले बनाएका कलाकृतिहरू अन्य देशमा पुगेको सुन्न पाइन्छ । 

भृकुटी स्मृति प्रतिष्ठानको पहलमा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले उनको जन्मघर, तत्कालीन अंशुवर्माको निवास खोपासीमा ‘भृकुटी जन्मघर’ यही आर्थिक वर्ष २०८२÷८३ मा निर्माण गर्ने भएको छ । साथै विसं २०८२ माघ १ गते खोपासी युवा क्लब, नरसिंह मठ र काभ्रे सेवा समाजको सहकार्यमा इतिहासमा पहिलो पटक उनको जन्मस्थल खोपासीमा भव्यतासाथ राष्ट्रिय विभूति राजकुमारी भृकुटी देवीको १४०२ औँ जन्मोत्सव मनाइएको थियो । 

अरनिकोबारे अस्पष्ट 

भृकुटी कसकी छोरी भनेर इतिहासविद्, लेखकहरू अलमलिए जस्तै अरनिकोको जन्मस्थानका बारेमा पनि अलमलिएको पाइन्छ । प्रो. सिल्भा लेभीले अरनिकोको जन्म ललितपुर हुन सक्ने भनी लेखेकोमा इतिहासशिरोमणि बाबुराम आचार्यले उनको भनाइलाई समर्थन गरेर नेपाली नाम ‘बलबाहु’ दिए । डा. कृष्णकुमार पाण्डेले ‘दी डिभाइन ह्यान्ड्स’ पुस्तकमा शाक्यवंशीय ‘यलेयबाबु’ भनी प्रस्तुत गरे पनि ‘म कुनै पनि निश्चिततासँग भन्न सक्दिनँ कि उनी ओकु–बाहा पाटनबाट आएका थिए’ भनेका छन् । 

उनले पनि प्रो. सिल्भा लेभीको भाषा बोलेका छन् । डिल्लीरमण रेग्मीले खोपासीको ज्यापू भनेर लेखे । नेपाली विद्वान् एवं संस्कृतिविद् सत्यमोहन जोशीले पनि जन्मस्थल तत्कालीन पाटन सहर हुन सक्ने सम्भावना मात्र औँलाए । विसं २०६२/६३ तिर फेरि अरनिकोको जन्मस्थानको चर्चा चल्यो । यस पटक धेरै लेखकले अरनिको ‘पहरी’ थरका भएको र काभ्रे जिल्लाको खोपासीमा जन्मिएका र उनी प्रशासक बलदेवका छोरा बलबाहु थिए भनी लेखे । अन्ततः गुरुकुलले पहरीको आकृतिमा मूर्ति बनाए । नेपाल सरकार, शिक्षा मन्त्रालयले भने विद्यालय पाठ्यक्रममा अरनिकोको जन्म पाटन लेखेर गैरजिम्मेवारीपना देखाएको पाइन्छ ।

यसो भन्छ अध्ययन

भृकुटी स्मृति प्रतिष्ठानले पाल्पा, पाटन, भक्तपुर, बनेपा, पनौती, खोपासीमा अध्ययन गरी वस्तुपरक तथ्य तथा किंवदन्तीसहित अन्त्यमा उनको जन्म खोपासीमै भएको निक्र्योल गरेको छ । प्रतिवेदनका अलावा खोपासी नै अरनिकोको जन्मस्थल भएको केही तथ्य यहाँ अघि सार्न सकिन्छ : 

खोपासीका आदिवासी पहरीहरू किराँतभन्दा पुराना थिए । पहरीहरू कलाकार भएका र यहाँबाट भोट र भारतमा व्यापार हुने गरेको थियो । अर्थ मन्त्रालयको राजस्वसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार खोपासीमा किराँतकालमै चोकपारा (कर) लागु भएको थियो । पहिलो करप्रणाली खोपासीबाटै सुरु भएको मान्न सकिन्छ । 

पहरीहरू कलाकार, वास्तुकार हुन् भन्ने प्रमाण पाँचौँ शताब्दीमा बनेको पलाञ्चोकमाईको मूर्ति हो । कैलाशमा बसेर काम गरेका अंशुवर्माले सन् ६०८ तिर कैलाशकुट भवन बनाउनु पनि यसको प्रमाण हो । भृकुटीसँग गएका पहरीहरूले सन् ६३५–६४२ सात वर्षबिचमा पोताला, जोन्खा, अरू भवनहरूका साथमा चैत्यहरू बनाएका थिए । नरेद्रदेवसँग धेरै पहरीहरू सन् ६४२ मा फर्किएपछि त्यस्तो संरचना किन बन्न सकेन ? फेरि, नवौँ शताब्दीको लडाइँमा बिग्रेको पोताला दरबारको पुनर्निर्माण १४ औँ शताब्दीमा बन्नुमा कतै अरनिकोको टोली १३ औँ शताब्दीमा पुग्नु त होइन ?  काठमाडाँै उपत्यकाभन्दा पहिले तले (नेपाली पेगोडा) शैलीको सहर खोपासीको नजिक पनौतीगाउँ, महासामन्त जय रामसिं वरदानको पालामा १४ औँ बन्नु । माथि उल्लिखित बुँदाहरूले भृकुटी स्मृति प्रतिष्ठानको प्रतिवेदनलाई अरनिको पहरी खोपासीका हुन् भन्नेमा थप ऊर्जा दिन्छ ।

अरनिको पेकिङतिर

सन् १२५५ मा महाभूकम्प गएको केही वर्षपछि ल्हासा भ्रमण गर्दा जोङ्खा दरबारमा रहेको भृकुटीका कलात्मक दाइजोहरूबाट प्रभावित चिनियाँ सम्राट् कुब्लाइ खाँ एउटा फुटेको ढलौटको सामग्री र नेपाली चैत्यहरूबाट अति प्रभावित भए । गुरु पाहसपा (तिब्बती नाम फारया) लाई टुटेको मूर्ति जोड्न र तिब्बतमा सुनको स्तूप (चिवहा) बनाउन अराए । राजकुमारी भृकुटीसँग गएका वा व्यापारको सिलसिलामा सोभन्दा पहिलेदेखि पहरी कलाकारहरूले ल्हासामा नेपाली कलाकारिताको छाप बनाइसकेका थिए । गुरु पाहसपाले पनि नेपालका राजा जयदेव मल्ल (तत्कालीन बनेपाका अधिपति) लाई भूकम्पबाट क्षति भएका सामग्रीहरू मर्मत गर्न तथा राम्रा चैत्यहरू बनाउन सय कलाकारको माग पठाए । मागभन्दा धेरै कलाकार पठाए पनि ८० जना मात्र ल्हासा पुगेका भनाइ छ । 

तिब्बतमा स्वर्ण चैत्य निर्माणपछि अरनिको नेपाल फर्कने तयारीमा लागे । गुरु पाहसपाले टोलीनेता अरनिकोलाई पेकिङ सम्राट्कहाँ लैजाने इच्छा गरे । त्यसरी चीनको राजधानी पुगेका अरनिको युआन वंशका सम्राट्को आदेशमा श्वेत चैत्य निर्माणमा जुटे; जसलाई नेपाली शैलीमिश्रित अद्वितीय वास्तुकला मानियो ।

। यो चैत्य बनाउन आठ वर्ष लागेको चिनियाँ वृत्तान्तमा उल्लेख छ । ठाउँ ठाउँमा भवन, चैत्य, गुम्बा आदि बनाउँदै उक्त अभियान अन्तर्गत मङ्गोलिया नजिक चीनको गाङ्सु प्रान्त, तुङहाङ उपत्यकाभित्र रेसममार्गको सुरुवात विन्दुसँगैको मङ्गो गुफा; जसलाई बुद्धका हजार गुफा तथा संसारको ठुलो बुद्ध भण्डारणमा पनि पुगेको हो कि भन्ने प्रश्नहरू उब्जिएका छन् ? यी गुफाहरूमा बुद्धमार्गसम्बन्धी सामग्री भर्ने काम उई वंशले सन् ३६६ बाट सुरु गरे र यसले १३ औँ शताब्दीमा युआन वंश अर्थात् कुब्लाइ खाँको कार्यकालमा पूर्णता पाएको भनिएको छ । रोचक पक्ष त सन् १९७० ताका उक्त गुफा पुगेका तत्कालीन नेपाल भिक्षु सङ्घका उपाध्यक्ष भन्ते निग्रोजका अनुसार हजार गुफामध्ये एक गुफा नं. २५४ मा नःम बुद्ध चैत्यको साथमा गुफाको वरिपरि भित्तामा राजकीय सिकार कार्यक्रम र राजकुमार माहासत्वले बोधिसत्व प्राप्त गरेको घटनाचक्रको चित्रकला बनाइएको छ । नःम बुद्ध चैत्य र चित्रकलाले अरनिकोले आफ्नो जन्मस्थानको प्रतिनिधित्व बनाएको हुन सक्छ ।

अरनिको कलाकार मात्र थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए । अरनिकोले दूरविन बनाएका थिए । टेलिस्कोप बनाउने श्रेय ग्यालिलियोलाई दिइन्छ । पश्चिमी जगत्मा विज्ञानको उदय हुनुभन्दा सयौँ वर्षपहिले यस्तो यन्त्र अरनिकोले बनाएका थिए । ज्योतिष विज्ञानमा पनि निपुण अरनिकोले दर्शकयन्त्र (कम्पास) तथा भूकम्प थाहा पाइने यन्त्र पनि बनाएका थिए भनिन्छ । त्यस्तै अरनिको र उनका सहयोगीले मूर्ति बनाउँदा शरीरका विभिन्न अङ्गको आवश्यक अनुपात (तालमान) र अरू कलाकारितासम्बन्धी विवेचना गरिएको कलासम्बन्धी किताब पनि लेखेका भनाइ रहेको पाइन्छ ।

यस्ता महामानव अरनिकोको नेपाली जीवनीप्रति राज्य र सम्बन्धित निकायले अझै औपचारिकता मात्र देखाएको पाइन्छ । भृकुटी स्मृति प्रतिष्ठानले उनको जन्मस्थान प्रस्ट पारे पनि उनको जीवन र योगदानबारे गहिरो अध्ययन अझै आवश्यक छ । नेपाली र चिनियाँ स्रोतहरूको समन्वित अनुसन्धानबाट तत्कालीन नेपालको विज्ञान, वास्तुकला, कलाकारिता तथा बौद्धशान्ति परम्पराको वास्तविक स्वरूप उजागर हुन सक्छ । यही अध्ययन नै अरनिकोप्रतिको साँचो सम्मान र भावी कला–वास्तुकला विकासको आधार हुने छ ।

Author

विश्व उलक