काठमाडौँ, चैत १४ गते । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।
प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएपछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत् बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको हो ।
प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा शाहको नियुक्तिले नेपाली जनताले उहाँको नेतृत्वप्रति राखेको गहिरो विश्वास र भरोसालाई प्रतिविम्बित गरेको उल्लेख गर्नुभएको छ । नेपाल र भारतबिचको सदियौँ पुरानो विशिष्ट सम्बन्धलाई थप उचाइमा पुर्याउन आफू तत्पर रहेको समेत मोदीले उल्लेख गर्नुभएको छ ।
मोदीले लेख्नुभएको छ, ‘नेपालको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा बालेन्द्र शाहजीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । म तपाईंसँग निकट रहेर काम गर्न र दुई देशका जनताको आपसी हितका लागि नेपाल–भारत मैत्री तथा सहयोगलाई अझ नयाँ उचाइमा पुर्याउन उत्सुक छु ।’