• १३ चैत २०८२, शुक्रबार

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँः कानुनमन्त्री गौतम

blog

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमद्वारा शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । तस्बिरः नवीन पौडेल

काठमाडौँ, चैत १३ गते । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभएको छ ।

राष्ट्रपतिसमक्ष शपथ ग्रहणलगत्तै सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै मुलुकी अपराधसंहिता, २०७४ लगायतका संहिताहरुमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गर्दै सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभयो ।

“विगतमा रोकिएर रहेका नयाँ निर्माण गर्नुपर्ने कानुनहरू, संशोधन गर्नुपर्ने विषयमा सबै अध्ययन गरेर काम गर्छौं,” मन्त्री गौतमले भन्नुभयो, “भर्खर जिम्मेवारी सम्हालेको छु, अध्ययन गरेर काम गर्छौं ।”

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्नुहुन्छ । विसं २०५२ असार ३ गते दोलखामा जन्मिनुभएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोवास बनाउँदै आउनुभएको छ।

कानुन विषयमा स्नातक पूरा गर्नुभएको छ भने हाल काठमाडौँ स्कुल अफ लमा एलएलएम अध्ययनरत हुनुहुन्छ । राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहनुभएकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आउनुभएको थियो ।

कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव समेत छ । रासस