फडिन्द्र अधिकारी
लेखनाथ, चैत १३ गते । वि. सं. २०३२ सालमा विमानस्थल निर्माणका लागि पोखराको तीन हजार एक सय छ रोपनी जग्गा अधिग्रहण भयो । जग्गा अधिग्रहण हुँदा विस्थापित हुनेमा खडकराज पौडेलको परिवार पनि थियो । त्यसको चार दशकपछि विमानस्थल निर्माणअघि थप जग्गा अधिग्रहण हुँदा फेरि पनि पौडेल परिवारले थातथलो छाड्नुपर्यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुई पटक विस्थापित हुनुभएका पौडेल शुक्रबार पर्यटन, संस्कृति नागरिक उड्यन मन्त्री नियुक्त हुनुभएको छ ।
कुनै बेला जग्गादाताको हितका लागि आन्दोलनको संयोजकसमेत गर्नुभएका पौडेललाई समयले आन्तरिक उडानमै सीमित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसहित स्थानीयका मागसमेत सम्बोधन गर्ने ठाउँमा पुर्याएको छ । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारीपछि कास्कीले दोस्रोपटक पर्यटनमन्त्री पाएको हो ।
जन्मस्थान पोखरा–१४, मझेरीपाटनमै विद्यालय सञ्चालन गरी डेढ दशक शिक्षण गर्नुभएका ४६ वर्षीय विभिन्न कालखण्डमा पेसामा संलग्न हुनभएको थियो । पोखरामा हेरालो साप्ताहिक र न्युजमार्ट दैनिक सञ्चालन गर्ने उहाँ साहित्यमा गनेस पौडेल नामले परिचित हुनुहुन्छ । ‘पैताला’ उपन्यास प्रकाशन गर्नुभएका उहाँ अहिले लेखक, साहित्यकारमैत्री नीति निर्माण गर्ने ठाउँमा पुग्नुभएको छ । अंग्रेजी साहित्य र व्यवस्थापन अध्ययन गर्नुभएका पौडेलले सुशासन र सदाचार कमजोर हुँदा ‘अटेरी अभियान’ चलाउनुभएको थियो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा महानगर प्रमुखमा सोही अभियानको तर्फबाट लौरो चुनाव चिह्न लिएर उहाँले स्वतन्त्र उम्मेदवारीसमेत दिनुभएको थियो । त्यही चुनाव चिह्न उहाँको काठमाडौँ महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर प्रमुख निर्वाचित बालेन्द्र शाह (बालेन)सँग सम्बन्धको सेतू बन्यो । तीन महिनाअघि वालेनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएका पौडेल कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य चुनिनुभएको थियो । बालेनको मन्त्रिपरिषद्मा पौडेल मन्त्री बन्नुभएको छ ।
शिक्षक, लेखक, अभियान्ता, स्वतन्त्र उम्मेदवार हुँदै गएको निर्वाचनबाट उहाँ कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य चुनिनुभएको हो । मत दिएको हुँ भनी भोज, उत्सवहरूमा नबोलाउन आग्रह गर्दै उहाँ नीति निर्माण र देश परिवर्तनमा दत्तचित्त हुने प्रण गर्नुहुन्छ । पठन संस्कृतिको जग बसाउने र्यान्डम रिडर्स सोसाइटीका पूर्व अध्यक्षसमेत रहनुभएका पौडेल आम नागरिकले आशाले भोट हालेको सुनाउँदै त्यो आशालाई निराशामा बदलिन नदिने प्रण गर्नुहुन्छ ।
पौडेल भन्नुहुन्छ, “हामीलाई रचनात्मक सुझाव दिनुस् । एकै दिनमा कायापलट सम्भव छैन, खबरदारी गर्नुस्, हामी सहयात्रा र सहकार्यबाटै समृद्ध देश बनाउने यात्रामा छौँ ।” पर्यटन राजधानी घोषणा भएको पोखरा महानगरमा त्यस अनुरूपका पूर्वाधार बनेका छैनन् ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष भइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । तालनगरीमा परिचित पोखराका आठवटै ताल प्राकृतिक र मानवीय दुवै थरी अतिक्रमणको चपेटामा छन् । मध्यपूर्वको तनावले विश्वलाई नराम्ररी प्रभावित बनाएको अवस्था देशमा नयाँ सरकार बनेको छ । स्थानीय समस्याको सम्बोधनसहित देशको पर्यटन क्षेत्रको विकासका लागि नयाँ सरकार र मन्त्री पौडेलबाट नागरिकले ठुलो आशा गरेका छन् ।