• १४ चैत २०८२, शनिबार

धनकुटामा माटोको ढिस्कोले पुरिएका कामदारको उद्धार

blog

निर्माणाधीन घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका कामदारको उद्धार गर्दै प्रहरी । तस्बिर : कबिराज घिमिरे

कविराज घिमिरे
हिले, चैत १४ गते । धनकुटा नगरपालिका-६, परिचयमोडमा निर्माणाधीन घरको जग खन्ने क्रममा एक कामदार माटोको ढिस्कोले पुरिएका छन्।

शनिबार बिहान सुमन श्रेष्ठको घर निर्माणका क्रममा काम गरिरहेका धनकुटा नगरपालिका-१०, पारिपात्ले बस्ने करिब ३५ वर्षीय रामबहादुर तामाङलाई माटोको ढिस्कोले पुरेको हो। केही समयपछि उहाँको  जिवितै उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीको नेतृत्वमा ३५ जनाको टोली उद्धार सामाग्रीसहित घटनास्थलमा खटिएको थियो। टोलीले माटो पन्छाएर गम्भीर अवस्थामा रहेका तामाङलाई उद्धार गरेको हो।

उद्धारपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानकुमार महतोले जानकारी दिनुभयो।