• १४ चैत २०८२, शनिबार

पहिलो भेट ! [कथा]

blog

त्यो दिन मैले पैला बोलाकी,” मेरो कुरो पन्छाउँदै उसले भन्यो, “तिमीले हैन, मैले ।” जहाँ जहाँ हामी भेटिन्थ्यौँ, कसरी तिमीले ? मैले हो, होइन तिमीले । हामी निष्कर्षविहीन छुट्थ्यौँ । अविस्मरणीय त्यो भेट बिनागाँठोको दाम्लो भयो । निर्णयविन्दु आएन । हुन त निर्णय नभए भेटको के अर्थ तर हामी दुईमध्ये पहिला कसले बोलाएको थियो ? चरण चरण छलफल हुुन्थ्यो । उसले हार्न अस्वीकार गर्नुु, म पनि के कम !

यस्तै यस्तै कुरा कतिखेर उसलाई आफूभित्र लुकाउन पुगेछु । सोही कारण ममा पलाएको खुसी उसको समीप पुग्थ्यो । त्यसो त दुःखको भारी बिसाउने चौतारो पनि ऊ नै हो भन्ने लाग्थ्यो । उसको काख मेरो सिरान ! 

भारतीय नायक अमिर खान मलाई मन पर्ने कलाकार हुन् । उनीद्वारा अभिनीत सिनेमा राजा हिन्दुस्तानी मैले पटक पटक हेरेँ । कथावस्तु मन परेर नसा नसा छोएको हुनाले हेरेँ ।  

एकदिन मनको वह खोलेँ, “तिमी मेरो अमिर !” ममताको त्यो बाढी सार्वजनिक गर्न भने सकिनँ । मैले मनको त्यो डायरीलाई कापीमा लेखेँ । क्रमशः कलमसँग मित्रवत् व्यवहार सुरु भयो । 

पत्रकार, पत्रिका र म पारिवारिक सदस्य जस्तै भयौँ अर्थात् माला उन्न तयार गरिएको किसिम किसिमको फूल ! मैले उसलाई खाना खान डाकेँ । “हामी भेटिन ढिलो भएछ,” त्यो साँझ मलाई नियाल्दै उसले भन्यो । खाना पकाउन मेरो मेहनतको कुरो होला भन्ठानेकी थिएँ तर कथाले अर्कै मोड लियो । “भावीले नलेखेको सङ्गत कसरी हुन्छ, जीवनको रथ ?” मैले प्रश्न गरेँ । हामीबिच कति मौन बात हुन्थ्यो । कति झगडा पथ्र्यो । अक्सर चाहिँदो मात्र बोल्ने ऊसँग थप कुरो के गर्नु, के नगर्नु ? आफैँ रनभुल्ल हुन्थेँ ।  

जसरी उसले आफूलाई प्रस्तुत ग¥यो, म चुप लागेर बस्न सकिनँ । “हेर गणेश, गमलाको त्यो फूल कति सुन्दर छ । ढकमक्क त्यसलाई परबाट हेर्नुको आनन्द अर्कै हुन्छ । मगमग बास्ना सुगन्धमय आसन, कि होइन ?”

साल, महिना र गते यकिन छैन । मेरो सयपत्री मनमा उसको आगमन अटुट भइरह्यो । हाम्रो पहिलो भेट ! मूल विषय थियो । विपनाको प्रसङ्ग सपनामा समेत सुरु भयो, पहिला कसले बोलायो ? मेरो पक्षमा अडिग म उसको पक्षमा उही । कत्रा कत्रा खेल पहिलो, दोस्रो हुने भूगोलमा म र ऊ जहाँको तहीँ !

सपनाको वृत्तान्त उनेर उपन्यास जन्माउन हतारिएकी म उसलाई किन नबताऊँ ? मेरो मनको खाकामा उसको अफिस हाजिर भयो । १५ औँ तलामाथि सोफामा राज मनको अगाडि शरीर ढिलो पुग्दा लाग्यो, आफैँभित्र पनि कति भिन्नता छ ? त्यो दिन उसले बिदा लिएको थाहा नहुँदा खिस्रिक्क भएकी म घरतर्फ लागेँ । त्यतिखेरै मोबाइलसँग चिच्याउँदै र कराउँदै उसको नम्बर डायल गरेँ ।

“यत्रो सञ्चारमय युग । एकछिन हातमा मोबाइल छैन भने सातो जाला झैँ गर्ने तिमीले एक कल नगरी किन घरबाट हिँड्नु ?” शतप्रतिशत व्यावहारिक र मननयोग्य उसलाई कुन तागतले उछिन्नु ? आखिर मैले हारेँ । मलाई चित्त नबुझ्ने कुरो पहिलो भेटको प्रसङ्ग मात्र हो !

“मैले पैला बोलाकी,” ऊ भन्थ्यो, “मैले चैँ बोलाको ।” यही तरिका निष्कर्षमा कसरी पुग्नु ? सगरमाथा चुचुरो पुगे/नपुगे हुने पाउने केही होइन । यद्यपि निरन्तर होडबाजी तँछाडमछाड चलिरह्यो ।

थोरै दिन बिराएर भेट्दा झन् लामो बहस न्यायालय झैँ गथ्र्यौं । आआफ्नो हठले रात छिप्पियोस्, दिन ढल्कियोस्; टसमस हुन्नथ्यौँ । “तिमीले मलाई नसम्झेको क्षण म किन सम्झन्छु ? सम्झिन्नँ,” कहिलेकाहीँ लामो सास तानेर पुनः बोल्थ्यो, “याद छ, मलाई सम्झेर आफ्नै छाती कति मसाज ग¥यौ ?” “कस्तो हावा खुस्केको टायर जस्तो मान्छे ! म स्वयम्ले कल्पना नगरेको बात काँबाट देख्यो ? कसरी हे¥यो ? ऊसँग भिडियो कल गरेकै छैन तै पनि...?” मैले वाक्य पूरा गर्न सकिनँ । सायद त्यो पल प्रकृति पनि लजाइन् । “मैले पैला बोलाकी हुँ,” आग्राको कुरा गाग्रा भन्दै प्वाक्क मुख खोलेँ । मलाई सुनेर पहिलो पटक उसले जवाफ फर्काएन । “म यस्तै छु, हर कोहीसँग मिल्न नसक्ने,” एकछिन मौन रहेर उसले भन्यो । “अरे ? यो आदत त मेरो हो । तिम्रो कसरी भो ?”

म हमेसा उसलाई विश्वास गर्थें । त्यही कारण आन्द्राभुँडी खोल्थ्यो । मेरो सयपत्री मनमा अटुट आगमन थियो ऊ । वसन्तका पाउलामा मैले आफ्नो आकृति देख्न थालेँ । म पानीको मुहान बनेँ, तिर्खा ऊ । बिहानी शीतका थोपामा आफूलाई भेट्थेँ । ‘कृपा, ए कृपा’ उसको आवाज तरङ्ग बनेर मेरो कानमा गुन्जियो । 

“म्याडम, याँ सडक दुर्घटना भा’रैछ ! घाइते यात्रीले खबर गरिदिनु भन्नुभो र मैले कल गरेको । म ट्याक्सीचालक महेन्द्र, चिन्नुभो...?” फोन सुनेर मेरो जीउ लुगलुगायो । गएराति सपनामा ऊ हाँस्दै थियो । सधैँ ठुस्केर हिँड्ने मान्छे प्रफुल्ल थियो । उसका पाइला घरतिरै मोडिएको झल्को म निद्राबाट ब्युँझिँदा धर्तीको अँध्यारो विलय भइसकेको थियो ।

उसको सवारीलाई स्कुटीले दनक दिएको त्यो क्षण कति हताहत भयो ? “कृपा...! कृपा...!” यो आवाजतिर ध्यान दिने महेन्द्र थिए । एउटा संयोग मैले महेन्द्रलाई चिन्थेँ । अर्को उसका बच्चाहरूकी आमाको नाम पनि कृपा रहेछ ।

दुर्घटना सानोठुलो जत्रो होस्, घटना घटनै हो । चेतनाले ठाउँ छोडेजत्तिकै म हस्पिटल पुगेँ । बेडमा सुतेको उसलाई एकतमास हेरेँ । भगवान्को कृपा ठुलो चोट छैन, डाक्टरबाट कुरो बुझिसकेपछि क्रमशः मेरो मुटुको धडकन मत्थर हुँदै गयो । त्यहाँ उसको निधारमा हात राख्न सकिनँ । न सकेँ, च्याप्प औँला समाएर मायाको डोरी कस्न । “तिमीलाई कसरी यस्तो हुुन गयो ?” प्रश्नमाथि प्रश्न गर्न अडचन थिएन । खास म नर्स हुँदी हो त त्यहाँ तगारो हुदैनथ्यो । अविवाहित मलाई यो समाजले नदिएको अधिकारमा फागु खेल्नु भनेको आफ्नै गोडामा बन्चरो प्रहार गर्नु हो । 

“तिमीलाई खाना खान बोलाउँछु,” पत्रकार साथीहरू, पत्रिका र म एक दिन सँगै थियौँ । त्यहीबेला उसले भनेको थियो । मैले अपेक्षा गर्न छोडिनँ तर उसले डाकेन । मेरो एक मनले सम्झाउन खोज्थ्यो तर अर्को मनले भन्यो, “भो भो पर्दैन, एकदिन एक छाक उसकहाँ खाएर के हुन्छ ?” मनभित्र द्वन्द्व भइरह्यो ।

“जतिसुकै जितेर बोल कृपा तिमीलाई मैले पैला बोलाको हो । यी आँखाको भाका तिम्रो रूप ममताको त्यो छहारीमा म निदाउन चाहन्थेँ तर...।” “भेट हुनै ढिलो भो, हैन त ?” उसको अधुरो वाक्यलाई मैले पूरा गरिदिएँ । ऊ मुस्कुरायो । लज्जावती झार झैँ लजाएँ म ।

“मेरो हृदयको मलम तिम्रो लागि कामना, मनकामना, तीर्थव्रत र भाकल सुरु गरौँ ?” सविनय मैले आफ्नो भाका पस्किने बेलामा त्यहाँ डाक्टरको टोली आयो । म ढोकाबाहिर निस्कनु प¥यो । जहाँ श्रीमती कृपाको जरुरत थियो । उनलाई चाहिँ डाक्टरले भित्र बोलाएपछि मेरो काम बाँकी नै के रह्यो र ? जीवनको त्यो मोड हिजो झैँ लाग्छ । मलाई जति कसलाई थाहा छ, तिर्खा र तृष्णाबिचको अन्तर । मानौँ; म फलाम, ऊ चुम्बक अनि म चुम्बक भए ऊ फलाम । मेरो मनको तृष्णा कतै बाँड्न न कोहीसँग साट्न केही गर्न मिल्ने खालको थिएन । शिष्टाचार र आदरभाव गर्ने उसको शैलीले मेरो मन छोएको थियो । “म यस्तै छु, हरकोहीसँग मिल्न नसक्ने अनि मिल्नेलाई भुल्न नसक्ने ।” दाहिनो देब्रे मिलेको हाम्रो मित्रता भन्ने लाग्थ्यो मलाई । त्यो बिहेभोजमा भेट हुँदा उसले छड्के नजर लगाएको मिठो याद अमिट छाप भयो । 

“मैले तिमीलाई धेरै हेरेँ । त्यो साँझ साथीहरूको लहलहैमा लागेर दारु बढी भो तर बेहोस थिइनँ, होसमै थिएँ । दन्त्यकथाका नायक जस्तो लाग्ने जङ्गबहादुरले आफ्ना ४२ रानीलाई मिलाएरै राखेका थिए । विवाहिता सालीलाई घरैबाट उठाए र जारी तिरे..!” 

“बस्नेत, शाह, बाहुन, कार्की, विष्ट, नेवार, तामाङ आदि जात खुलेका र दुई भारतीय महिलालाई पनि प्रेमको पासोमा बाँधेर रानी बनाएका थिए । त्यसो त पुतलीमैयाँ र लाउरासँग जङ्गबहादुरको त्यो प्रेमले इतिहास रचेको छ, हैन त ?” श्री ३ काबारे मैले रोचक कुरो पस्किएँ । उसको पछिल्लो दुर्घटना हेरी पहिलो केही थिएन । “तिम्रो भाँचिएको करङ चाँडै निको हुन यो सुप पिऊ,” मैले यति नभनेसम्म मुख खोल्नेवाला थिएन ।

वास्तवमा मैले ऊबाट पाएको प्रेरणा र हौसला नै जीवनोपयोगी सिप थियो, त्यही श्रमले देशविदेशमा काम र दाम दियो । जब आफू बाँच्न सक्षम भएँ, बचाउन सक्ने रहेछु भन्ने हिम्मत पलायो ।

समयक्रममा उसको अफिस टाढा भयो । म पनि घरव्यवहार र व्यवसायमा चौपट खटाइमा परेँ, तैपनि हाम्रो मित्रताको धागो कमजोर भएन । हाम्रो सशरीर भेट असम्भव भएपछि प्रविधिमय सञ्जालमा जोडिन थाल्यौँ । त्यसबखत पनि हाम्रो त्यो पहिलो भेटको विवाद चल्थ्यो नै ।

म भन्थेँ, “म्याद सकिएको रेडियोको ब्याट्री भयो ऊ ।” सुरुमा केही नबुझेपछि अन्त्यमा भन्यो, “कृपा, हाम्रो मित्रता आकाश ताकेको त्यो चङ्गा हो । तिमी हुन्छ मात्र भन !” ऊसँगको त्यो भेटले मलाई सिकायो, एक समयको त्यो अपरिचित मान्छे नै मेरो जीवनको नयाँ शिक्षक रहेछ । मनले नजिक हाम्रो मित्रता आखिर एकै छानामुनि रहन ललाटमै थिएन तर आज पनि उसलाई सम्झँदा मेरो मन मुस्कुराउँछ !