काठमाडौँ, चैत १४ गते । नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानुनी ठहर गरेको छ।
पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको निष्कर्ष निकालेको हो।
बैठकपछि महासचिव शङ्कर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारीको निन्दा तथा भर्त्सना गर्दै तत्काल रिहाइको माग गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँले यो कदम लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत रहेको पनि बताउनुभयो।
एमालेले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण ठहर गर्दै घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ। साथै, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायलाई संयुक्त पहल गर्न पनि आग्रह गरेको छ।

आइतबार देशभर विरोध प्रदर्शन
महासचिव पोखरेलका अनुसार गिरफ्तारीको विरोधमा चैत १५ गते आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाइने छ। पार्टीसम्बद्ध जनसङ्गठनहरूले आजैबाट विरोध कार्यक्रम सुरु गर्ने छन्।
बैठकले उपाध्यक्ष विष्णु पौडेललाई अन्य राजनीतिक दलसँग संवाद र समन्वयको जिम्मेवारी दिने तथा उपाध्यक्ष गोकर्ण विष्टलाई कानुनविदहरूसँग परामर्श गरी कानुनी लडाइँको संयोजन गर्ने निर्णय गरेको छ।
पार्टीले अध्यक्ष ओलीको गिरफ्तारीले संविधान, लोकतन्त्र र मानवअधिकारप्रति प्रतिबद्ध पक्षहरूलाई चिन्तित बनाएको उल्लेख गर्दै यसलाई कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने जनाएको छ। साथै, सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ।