बागलुङ समाचारदाता
बागलुङ, चैत १५ गते । कालीगण्डकी नदीको अवैध दोहन गर्नेलाई आवश्यक कानुनी कारबाही गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिकासहितका सरोकारवालाले गरेको अनुगमनबाट कालीगण्डकी नदीमा चरम दोहन भएको निष्कर्षसहित त्यसमा संलग्न ठेकेदार तथा निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले तोकेभन्दा बढी नदीजन्य पदार्थ दोहन गरेको जिल्लास्तरीय अनुगमन समितिले ठहर गर्दै दोहन गर्नेलाई कारबाही सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले जानकारी दिनुभयो ।
समितिले अनुगमन गरेको स्थानमा थप सामग्री निकाल्न रोक लगाउन नगरपालिकालाई पत्राचार गरिएको पनि थापाले बताउनुभयो । दुई साताअघि जिल्ला समन्वय समिति, प्रशासन, प्रहरी, नगरपालिकासहितका सरोकारवाला निकायले बागलुङ नगरपालिका–१३ को कालाखोला र बागलुङ नगरपालिका–१ को मालढुङ्गा क्षेत्रमा अनुगमन गर्दा नदीमा एक्साभेटर प्रयोग गरी पाँच मिटरसम्मका खाडल बनाएर नदी कुरूप बनाएको भेटिएको थियो ।
समन्वय प्रमुख थापाले भन्नुभयो, “वातावरणीय प्रतिवेदनमा १.२० मिटरको ढुङ्गा र बालुवा उत्खनन गर्ने उल्लेख भए पनि प्राविधिकसहितको टोलीले अध्ययन गर्दा निर्माण कम्पनीले कालीगण्डकीमा एक्साभेटर लगाएर पाँच मिटरसम्मका खाडल बनाएको पाइयो । कालाखोला क्षेत्रमा प्रतीक निर्माण सेवाले अत्यधिक दोहन गरेकाले तत्काल रोक्न पत्राचार गरिएको छ भने कम्पनीले थुपारेको बालुवा घाटगद्दी गरेर लिलाम गर्न भनिएको छ ।”