• २४ फागुन २०८२, आइतबार

स्थापित पार्टीका अधिकांश नेता पराजित

blog

काठमाडौँ, फागुन २४ गते । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पुराना पार्टीका अधिकांश नेता पराजित हुनुभएको छ । पूर्वप्रधानमन्त्रीदेखि पटक पटक मन्त्री र सांसद भएर समाजमा स्थापित भएका नेतासमेत निर्वाचनमा पराजित हुनुभएको हो । यस निर्वाचनमा अधिकांश युवा र पहिलो पटक प्रतिस्पर्धामा रहेका  नयाँले जित हासिल गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित हुनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट–१ बाट रास्वपाका राजेशकुमार चौधरीसँग पराजित हुनुभएको छ । रास्वपाका चौधरीले २८ हजार ९४६ मत ल्याएर विजयी हुनुभयो भने एमालेका अजयकुमार गुप्ताले १० हजार ६९४ मत ल्याएर दोस्रो, नेपाली कांग्रेसका अनिलकुमार झाले आठ हजार ५७४ मत ल्याएर तेस्रो भएर पराजित हुनुभएको छ । नेकपा सहसंयोजक नेपाल सात हजार ६६९ मत ल्याएर चौथो स्थानमा पुगेर रास्वपाका चौधरीसँग पराजित हुनुभएको छ ।

कांग्रेसबाट पटक पटक मन्त्री र सांसद भएका ‘हाइप्रोफाइल’ नेता पराजित हुनुभएको छ । पूर्वगृहमन्त्री विमलेन्द्र निधि रास्वपाका महामन्त्री मनिष झासँग पराजित हुनुभएको छ । झाले ४३ हजार ९८८ मत ल्याएर विजयी हुनुभयो भने निधिले १६ हजार ६५२ मत ल्याएर दोस्रो हुनुभयो भने पूर्वमन्त्री जुलीकुमारी महतो नौ हजार ७८६ मत ल्याएर तेस्रो भई पराजित हुनुभयो । कांग्रेस महामन्त्रीद्वय प्रदीप पौडेल काठमाडौँ–५ बाट रास्वपाका सस्मित पोखरेलसँग र गुरुराज घिमिरे मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशीसँग पराजित हुनुभएको छ । रास्वपाका पोखरेलले ३० हजार ३७३ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेसका पौडेल नौ हजार १५९ मत ल्याएर पराजित हुनुभयो । यस्तै रास्वपाका राजवंशीले ४० हजार ८३३ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेसका घिमिरे १२ हजार ८१८ मत ल्याएर पराजित हुनुभएको छ । कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला मोरङ–६ बाट रास्वपाका रुविना आचार्यसँग पराजित हुनुभयो । रास्वपाकी आचार्यले ५५ हजार ५१३ मत ल्याएर विजयी हुनुभयो भने कोइरालाले १२ हजार ८५० मत ल्याएर पराजित हुनुभयो । यस्तै कांग्रेसका महमहामन्त्री एवं पूर्वमन्त्री उदयशमशेर राणा ललितपुर–१ बाट रास्वपाकी बुद्धरत्न महर्जनसँग पराजित हुनुभयो भने पार्टीकै सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा–३ बाट रास्वपाका अरविन्द साह र  सहमहामन्त्री, प्रकाश स्नेही रसाइली बझाङबाट एमालेका ऐनबहादुर महरसँग पराजित हुनुभयो ।  

एमालेका अध्यक्ष ओलीसहित अधिकांश पदाधिकारी निर्वाचनमा पराजित हुनुभएको छ । शनिबार बेलुकासम्म अध्यक्षको प्रतिस्पर्धामा लडेका ईश्वर पोखरेल काठमाडौँ–५ बाट, उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट रास्वपाका सुलभ खरेलसँग पराजित हुनुभयो भने पृथ्वीसुब्बा गुरुङ रास्वपाका धर्मराज केसीसँग लमजुङबाट पराजित हुनुभएको छ । पार्टी उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२ बाट रास्वपाका गोविन्द पन्थीसँग पराजित हुनुभयो भने महासचिव शङ्कर पोखरेल दाङ–२ बाट रास्वपाका उम्मेदवार विपिन आचार्यसँग पराजित हुनुभएको छ । उहाँहरू सबै पटक पटक मन्त्री र सांसद हुनुभएका एमालेका वरिष्ठ नेताहरू हुनुहुन्छ । 

पार्टी सचिवहरू महेश बस्नेत भक्तपुर–२ रास्वपाका राजीव खत्रीसँग र  राजन भट्टराई काठमाडौँ–४ बाट रास्वपाका पुकार बमसँग पराजित भइसक्नुभएको छ ।  नेपाली कम्युनिस्ट पार्टीका अधिकांश नेता पराजित हुनुभएको छ । पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट रास्वपाका उम्मेदवारसँग तेब्बर मतले पछाडि हुनुहुन्छ भने  पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोटबाट कांग्रेसका खड्गबहादुर बुढासँग पराजित हुनुभएको छ ।  

पूर्वमन्त्री भीमबहादुर रावल अछाम १ बाट कांग्रेसका भरतकुमार स्वाँरसँग पराजित हुनुभयो भने राजेन्द्रप्रसाद पाण्डे धादिङ–२ बाट प्रतिस्पर्धाको तेस्रो स्थानमा हुनुहुन्छ भने रास्वपाकी आशिका तामाङले अग्रता लिनुभएको छ । पूर्वमन्त्री गिरिराजमणि पोखरेल महोत्तरी–१ बाट रास्वपाका प्रमोदकुमार महतो, प्रेमबहादुर आले कैलाली–५ बाट रास्वपाका अनन्दबहादुर चन्दसँग पराजित हुनुभएको छ । नेकपा नेता एवं पूर्वमन्त्री महेन्द्र राय यादव र राष्ट्रिय मुक्ति पार्टीका नेता एवं पूर्वमन्त्री राजेन्द्र महतो सर्लाही–२ बाट रास्वपाका रविन महतोसँग पराजित हुनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादव सप्तरी–३ बाट रास्वपाका अमरकान्त चौधरीसँगको प्रतिस्पर्धामा दोब्बर मतले पछाडि रहनुभएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी–२ बाट रास्वपाका उम्मेदवार रामजी यादवसँगको प्रतिस्पर्धामा तेस्रो स्थानमा रहनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–५ बाट रास्वपाका प्रकाश पाठकसँग पराजित हुनुभएको छ । राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौँ–१ बाट रञ्जु दर्शनासँग  र कमल थापा काठमाडौँ–५ बाट रास्वपाका उम्मेदवार सस्मित पोखरेलसँग पराजित हुनुभएको छ ।

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।