• २ वैशाख २०८३, बुधबार

बक्यौता नदिने निकायमा तालाबन्दी

blog

चर्चित सञ्चार संस्था रिपोर्टस् क्लबको भृकुटीमण्डपस्थित कार्यालयमा सोमबार समाज कल्याण परिषद्ले लगाएको ताला । तस्बिर : सागर बस्नेत

काठमाडौँ, वैशाख १ गते । भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को भवन, कोठा र हल प्रयोग गरेको बक्यौता नदिएपछि विभिन्न २० सङ्घ संस्थामा ताला लगाइएको छ । राजनीतिक पहुँचको आडमा वर्षौंसम्म बक्यौता नतिरेका निकाय, संस्थाको कार्यालयमा सोमबार ताला लगाएर परिषद् बक्यौता उठाउने प्रक्रियामा गएको हो । परिषद्का सदस्य सचिव सरोजकुमार शर्मासहित कर्मचारी प्रहरी भएर २० संस्थामा ताला लगाइएको हो । 

अहिलेसम्म बक्यौता नदिएर सञ्चालनमा रहेका २० संस्थाबाट चैत मसान्तसम्म कुल सात करोड ७९ लाख ८१ हजार ३४ रुपिँया उठाउन बाँकी रहेको सदस्य सचिव शर्माले जानकारी दिनुभयो । उक्त रकममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अनेरास्ववियु विद्यार्थी सङ्गठनले प्रयोग गरेको भवनबाहेकको रकम हो । “भृकुटीमण्डपमा कुल २५ सयभन्दा बढी स्टल छन् । जसमा ५६ संस्था र व्यक्तिमा बक्यौताको समस्या छ । तत्काल सञ्चालनमा रहेका २० संस्थाको बक्यौता उठाउने प्रक्रियामा जान्छौँ । त्यसपछि सबै सङ्घ संस्थाबाट बक्यौता उठाउने छौँ,” उहाँले भन्नुभयो, “हामीले तत्काल तालाबन्दी गरेर सात दिनभित्र बक्यौता बुझाउन पत्र पठाएका छौँ । सात दिनभित्र पैसा नबुझाए कानुनबमोजिम प्रक्रियामा अघि बढ्ने छौँ ।” 

राजनीतिक सत्ता र शक्तिको आडमा लामो समय बक्यौता नदिएकालाई कानुनी उपचारमार्फत पैसा उठाएरै छाड्ने उहाँले दाबी गर्नुभयो । “हामी कानुनभन्दा माथि कोही छैनौँ । कानुनको पालना सबैले गर्नु पर्छ,” उहाँले भन्नुभयो, “परिषद्ले कानुनबमोजिम सम्झौता भएको भाडा लिएरै छाड्ने छ ।” विद्यार्थी सङ्गठन अनेरास्ववियु बिनासम्झौता २०७७ चैतदेखि भवन कब्जा गरेर बस्दै आएको थियो । उक्त विद्यार्थी सङ्गठनबाट कुल ३२ लाखभन्दा बढी रकम लिनुपर्ने कर्मचारी बताउँदै आएका छन् । 

प्रायःको गत २०५० देखि २०६२/६३ अघिसम्मको पनि बक्यौता बाँकी छ । परिषद्ले बक्यौता बुझाउन दुई पटक पत्रिकामै ३५ दिने सूचना प्रकाशित गरेर ताकेता गरेको थियो । यस्तै महालेखा परीक्षकको कार्यालयको अडिट रिपोर्टमा समेत बक्यौता उठाउन ताकेता गर्दै आएको छ । 


 

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।