काठमाडौँ, फागुन २५ गते । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आइतबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले प्रतिवेदन ग्रहण गर्दै आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रीपरिषद्मा पेस गरेर कार्यान्वयन गर्ने बताउनुभयो । “तपाईंहरूले एकदमै मेहनत गर्नुभएको छ । यसका लागि धन्यवाद छ । सुरुमा जुन समयावधि तोकेका थियौँ, हाम्रो स्रोतसाधनका कारण त्यो पुग्दो भएन । पछि समय पनि थप्नुपर्ने भयो,” उहाँले भन्नुभयो, “तर न्याय, कानुन र अनुसन्धानको क्षेत्रमा तपाईंहरूको विज्ञता र योग्यताबारे थाहा पाएरै आयोगमा नियुक्त गरेका हौँ । आ–आफ्नो क्षेत्रमा तपाईंको प्रख्याति छ । त्यसको प्रतिविम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ । दुधको दुध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ ।” प्रतिवेदन सार्वजनिक गर्ने कुरामा छलफल र अधययन गरेर कार्यान्वयन प्रक्रिया अघि बढ्ने उहाँले प्रस्ट पार्नुभयो । प्रतिवेदनमा भएका सबै दस्ताबेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्ने उहाँले वचन दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो । भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उहाँले प्रस्ट पार्नुभयो ।
यस्तै सोही कार्यक्रमा आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताउनुभयो । आयोगका अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्ने टिप्पणी गर्नुभयो ।
हत्या गर्नेलाई कारबाही सिफारिस
प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गोली हान्ने, हान्न लगाउने, गोली नरोक्ने सबै सिफारिसमा परेको बताउनुभयो । “सरकारले हामीलाई जाँचबुझ आयोग ऐनबमोजिम छानबिन गर, जाँचबुझ गर भन्यो । गत भदौ २३ गतेको घटनामा क–कसको कमजोरी हो ? के कारबाही गर्ने हो सिफारिस गरेका छौँ ।” उहाँले भन्नुभयो, “हामीले सबै जाँचबुझ ग¥यौँ । जसकारण किशोरकिशोरीले मृत्युवरण गरे । हत्या गर्नेलाई कानुनबमोजिम कारबाही गर भनेर सिफारिस गरेका छौँ । सिफारिसमा गोली हान्ने, हान्न लगाउने, गोली नरोक्ने सबै परेका छन् । जो–जो जिम्मेवार छन्, उनीहरूलाई कारबाही सिफारिस गरेका छौँ ।”
तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको हो भन्ने प्रश्नमा अप्रत्यक्ष उत्तर दिँदै उहाँले दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरेको उहाँले बताउनुभयो । “हामीले काम देश र जनताका लागि गरेको हो ।
देशका लागि काम गरेकाले सन्तोष छ, केही दुःख भएन,” उहाँले भन्नुभयो । आफूहरूले निर्वाचनअघि प्रतिवेदन बुझाउने तयारी गरे पनि निर्वाचन परिणाममा असर पर्ने सम्भावना देखेको र काम पनि नसकिएकाले रोकेको उहाँले बताउनुभयो । उहाँले प्रतिवेदन कार्यान्वयन नभए अर्को आन्दोलन हुन सक्ने भएकाले कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
दुई सय जनासँग बयान : शर्मा
यस्तै प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका सदस्य विज्ञानराज शर्माले मुख्यतया २३ र २४ गतेका घटनालाई मिहिन ढङ्गले हेरेर अध्ययन गरेको बताउनुभयो । आयोगको प्रतिवेदन ९०० भन्दा बढी पृष्ठमा २०० जनाभन्दा बढीलाई बयान लिएको उहाँले बताउनुभयो । “हामीले जे देख्यौँ, जे बुझ्यौँ र प्रमाणका आधारमा जे पायौँ, त्यसै अनुसार कारबाही र सुधारका लागि राय सुझाव दिएका छौँ । अब यो प्रतिवेदन सरकारको सम्पत्ति भयो, बाँकी काम सरकारले गर्छ,” उहाँले भन्नुभयो, “जसले गल्ती गरेको छ, उसलाई कारबाही सिफारिस गरिएको छ । जसले राम्रो काम गरेको छ, उसलाई पुरस्कृत गर्न भनिएको छ । अहिले नै कति जनालाई कारबाही हुन्छ वा को–को हुन् भन्ने कुरा खोल्न मिल्दैन । यो अब सरकारको क्षेत्राधिकारभित्र पर्छ ।”
उहाँले भन्नुभयो, “पक्कै पनि केही सुरक्षा कमजोरी देखिएका छन् । संसद् भवन परिसरको सुरुदेखि नै, ब्यारिकेडदेखि नै केही कमीकमजोरी भएको हाम्रो अध्ययनले देखाएको छ ।” सरकारले गत असोज ५ गते कार्कीको नेतृत्वमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहने गरी आयोग गठन गरेको थियो । पटक पटक म्याद थप भएको आयोगले पाँच महिनापछि प्रतिवेदन बुझाएको हो ।