• ९ वैशाख २०८३, बुधबार

निःशुल्क आँखा शिविरबाट १२२ जनाको दृष्टि सुधार

blog

आँखाका शल्यक्रिया गरिएको विरामी । तस्बिर : नौरते नेपाली

नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख ९ गते ।
जुम्लामा सञ्चालन गरिएको ४५ औँ निःशुल्क आँखा शिविरबाट १२२ जनाको दृष्टिमा सुधार आएको छ । नेपाल नेत्रज्योति संघअन्तर्गत चन्दननाथ आँखा अस्पतालको आयोजना, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा रिड्ले आई फाउण्डेशनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरमा ५४० जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ६१ जना बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएकोमा छनोट भएका सहित कुल १२२ जनाको मोतिविन्दुको सफल शल्यक्रिया गरिएको चन्दननाथ आँखा अस्पतालका आई वर्कर सुपरभाइजर दलबहादुर महताराले जानकारी दिनुभयो ।

यसैगरी, जुम्ला सदरमुकाममा वैशाख ५ देखि ७ गतेसम्म सञ्चालन गरिएको शिविरमा ५४६ जनाको आँखा परीक्षण गरिएको थियो । शिविरका क्रममा २५० जनालाई पढ्न–लेख्न सहज हुने रिडिङ्ग ग्लास चस्मा वितरण गरिएको छ । नेत्र चिकित्सक डा. विक्रम अधिकारीको नेतृत्वमा रहेको टोलीले मोतिविन्दुको शल्यक्रिया सम्पन्न गरेको हो । अस्पतालका सभापति जगदिश चौलागाँईले हरेक वर्ष यस्ता शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

गत कात्तिक महिनामा सिँजा क्षेत्रको नराकोट र जुम्ला सदरमुकाममा शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । शिविरमा बिरामीको नाम दर्ताका लागि ५० रुपियाँ शुल्क लिइएको थियो । सामाजिक सेवामार्फत मोतिविन्दुका बिरामीलाई सहज उपचार उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्दै आएको अध्यक्ष चौलागाँईले बताउनुभयो ।