• ९ वैशाख २०८३, बुधबार

देवचुलीमा अन्डर–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

blog

ज्ञानु पंगेनी
मध्यविन्दु, वैशाख ९ गते ।
नवलपुरमा यही वैशाख १२ गतेदेखि एकेडेमीस्तरीय अन्डर–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। देवचुली नगरपालिका–१५ प्रगतिनगरमा रहेको रोयल क्रिकेट एकेडेमीको आयोजनामा तथा देवचुली नगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना हुन लागेको हो।

आयोजक रोयल क्रिकेट एकेडेमीले मङ्गलबार साँझ पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बोल्दै जिल्लाका क्रिकेट प्रशिक्षक कैलाश पंगेनीले प्रतियोगितामा देशभरबाट २० वटा एकेडेमीस्तरीय टिमहरूको सहभागिता रहने जानकारी दिनुभयो।

प्रतियोगितामा विजेता टिमले एक लाख रुपियाँ र उपविजेता टिमले ५० हजार रुपियाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पंगेनीले बताउनुभयो। त्यसैगरी ‘म्यान अफ द सिरिज’ हुने खेलाडीलाई १५ हजार रुपियाँ तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई ५–५ हजार रुपियाँका दरले पुरस्कृत गरिने उहाँले बताउनुभयो। प्रतियोगिता सम्पन्न गर्न करिब ३१ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रशिक्षक सन्तोष न्यौपानेले सरोकारवालासँगको छलफलपछि अन्डर–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने सुझाव आएको र सोहीअनुसार प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। नवलपुर जिल्ला क्रिकेटको उर्वर भूमि भएको र रोयल क्रिकेट एकेडेमीको खेल मैदान पनि उपयुक्त रहेको राष्ट्रिय स्तरका खेलाडीहरूको प्रतिक्रियाका आधारमा सबैसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो।

स्थानीय स्तरमा क्रिकेट प्रतिभा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको देवचुली खेलकुद विकास समितिका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो। यस प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ छ।