• ९ वैशाख २०८३, बुधबार

वातावरणमैत्री गाउँ बनाउन ‘डोको डस्टबिन’

blog

मुक्तिनाथ समाचारदाता

मुक्तिनाथ (मुस्ताङ), वैशाख ९ गते । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङमा फोहोर व्यवस्थापन गर्न हरेक घरलाई डोको डस्टबिन  वितरण गरिएको छ । प्लास्टिकका सामग्री प्रयोग घटाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) ल्होमन्थाङले ४५ घरधुरीमा निगालोबाट बुनिएका ९० डोका निःशुल्क उपलब्ध गराएको हो । गाउँमा घुम्न आउने पर्यटकलाई लक्षित गरी घरबास कार्यक्रम सञ्चालनको तयारीमा जुटेका स्थानीयले वातावरणमैत्री क्रियाकलापमा सघाउने गरी डोको डस्टबिन राखिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति चराङका अध्यक्ष रिजाङ आङग्या गुरुङले बताउनुभयो । 

अध्यक्ष गुरुङले भन्नुभयो, “अब गाउँमा फोहोर सङ्कलन गर्न प्लास्टिकका सामान प्रयोग हुँदैन । सबै घरमा यो नियम लागु गरिने छ ।” हरेक घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी घटाउने र सडकमा नफाल्ने गरी समुदायस्तरमा सचेतनामूलक अभियानसमेत सञ्चालन गरिने एक्याप इलाका कार्यालय ल्होमन्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो । उहाँका अनुसार प्लास्टिकजन्य वस्तुको प्रयोग हटाउन समुदायको बढी चासो रहँदै आएको छ । वातावरणमैत्री सामग्रीको प्रयोगलाई लक्षित गरी सिप हस्तान्तरणसमेत गर्ने योजना रहेको छ । पहिलो चरणमा फोहोर सङ्कलन गर्ने डोको वितरणसँगै अब कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राख्ने भाँडासमेत वितरण गरिने योजना रहेको छ । 

एक्यापले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको  छुसाङ, ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका सबै बस्तीमा वातावरणमैत्री अभियान अन्तर्गत स्थानीय सिप र प्रविधिको प्रयोग गरी निर्मित डोको डस्बिनसहित घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । जलवायु परिवर्तन, सडक सञ्जालको विस्तारसँगै प्रदूषणका कारण स्थानीयस्तरमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न वातावणमैत्री गतिविधिलाई लोघेकर दामोदरकुण्ड गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न चासो दिएको छ । सदरमुकाम जोमसोम–कोरला सडक अन्तर्गत चराङदेखि १५ मिनेट सवारीसाधनमा पुगिने मराङमा विश्वकै पुरानो दाबी गरिएको गुम्बा, चराङ गुफा, दरबारका साथै पहाडमा खोपिएका गुफाहरू छन् ।