• ९ वैशाख २०८३, बुधबार

पानीका मुहान सुकेपछि गोठाला चिन्तित

blog

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), वैशाख ९ गते । मुस्ताङको ल्होमन्थाङ गाउँपालिका अन्तर्गत छोसेरमा विगत डेढ दशकभन्दा बढी समयदेखि गोठालोको जीवन बिताइरहनुभएका महेन्द्र तामाङले जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्न थालेपछि चरन क्षेत्र सङ्कटमा परेको गुनासो गर्नुभयो । समुद्री सतहदेखि चार हजार सात सय मिटरको उचाइमा भेडाच्याङ्ग्रा र चौँरीलाई आवश्यक पर्ने पानीको स्रोतको अभावका कारण चरन क्षेत्रबाटै विस्थापित हुनुपर्ने जोखिम बढिरहेको उहाँले बताउनुभयो । भेडाच्याङ्ग्राको बथानलाई पानीको स्रोत खोज्न घन्टौँ यात्रा गर्नुपर्ने बाध्यता रहेको तामाङको गुनासो छ । भेडी गोठाला तामाङले भन्नुभयो, “वन्यजन्तुको आक्रमणको त्राससँगै पानीको मूल सुक्दा पशुपालनमा समस्या आउन थालेको छ । पहिलेको जस्तो न चरन छ, न पानीको मूलहरू नै छन् ।” 

गोठाला तामाङ जस्तै ल्होमन्थाङ छोसेरका अगुवा च्याङ्ग्रापालक आङ्ग्याल गुरुङले पर्याप्त घाँस र पानीको अभावले पशुपालक किसान विस्थापित हुनुपर्ने अवस्था आएको गुनासो व्यक्त गर्नुभयो । मानवीय र प्राकृतिक कारण पानीको मूल सुकेको उहाँको भनाइ छ । ल्होमन्थाङ र छोसेर क्षेत्रमा सडक सञ्जाल विस्तार भएपछि  सडक आसपासका क्षेत्रमा रहेका परम्परागत पानीका मूल सुकेका उहाँले बताउनुभयो । पछिल्ला दिनमा यहाँ वातावरणीय प्रदूषण पनि बढिरहेको छ । वातावरण प्रदूषणले असर गर्र्दा कृषि र पर्यटन क्षेत्रका पनि प्रभावित बनेको गुरुङले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय  ल्होमन्थाङका प्रमुख उमेश पौडेलले चरन क्षेत्रको अवस्था बिग्रन थालेको बताउनुभयो । उहाँले पशुपालक किसानका समस्या र आवश्यकताका बारेमा विवरण सङ्कलन गरिन थालेको जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “पुराना पानीका मूलहरू सुकेपछि पशुपालक किसानलाई कठिन हुन थालेको छ ।