काठमाडौँ, फागुन २९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा यसअघि प्रायः स्थापित दलका उम्मेदवारले जित्दै आएका किल्ला भत्किएको छ । आफ्नो निर्वाचन क्षेत्रलाई पकेट क्षेत्र मान्ने स्थापित दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानसम्म पु¥याएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउतसम्म रास्वपाबाटै पराजित हुनुभएको छ ।
काठमाडौँ क्षेत्र नं. ४ बाट तीन पटक विजयी बन्नुभएका कांग्रेस सभापति गगनकुमार थापा भने यस पटक सर्लाही–४ बाट प्रतिस्पर्धामा हुनुहुन्थ्यो । यद्यपि उहाँ त पराजित हुनुभयो नै उहाँको ‘किल्ला’ काठमाडौँमा पनि उहाँको पार्टीको उम्मेदवार पराजित हुनुभएको छ । थापालाई रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंहसँग फराकिलो मतान्तरले पराजित हुनुभयो । रास्वपाका सिंहले ३५ हजार ६८८ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेस सभापति थापा २२ हजार ८३१ मत ल्याएर पराजित हुनुभयो । कांग्रेसकै नेता शेखर कोइराला यसअघि मोरङ–६ बाट निर्वाचित हुनुभएको थियो । त्यहाँ रास्वपाकी रुविना आचार्यले ५५ हजार ५१३ मत ल्याएर विजयी हुनुभयो भने कोइराला जम्मा १२ हजार ८५० मत ल्याएर पराजित हुनुभयो ।
कांग्रेसका सुनील शर्मा यसअघि निर्वाचनमा मोरङ–३ बाट राम्रो मत ल्याएर निर्वाचित हुनुभएको थियो । यस निर्वाचनमा रास्वपाका गणेश कार्कीसँग झन्डै दोब्बर मतले पराजित हुनुभयो । कार्कीले ३६ हजार ९२४ मत ल्याएर विजयी हुनुभयो भने शर्मा २४ हजार ३५४ मत ल्याएर पराजित हुनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रायः निर्वाचन जित्दै आउनुभएको थियो । यस निर्वाचनमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ६८ हजार ३४८ मत ल्याएर निर्वाचित हुनुभयो भने एमाले अध्यक्ष ओली १८ हजार ७३४ मत ल्याएर पराजित हुनुभयो ।
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट प्रायः निर्वाचन जित्दै आउनुभएको थियो । यस निर्वाचनमा रास्वपाका सुलभ खरेल ५६ हजार ५५० मत ल्याएर विजयी हुनुभयो भने एमालेका पौडेलले १२ हजार ८६१ मत पाउनुभयो । एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ रास्वपाका धर्मराज केसीसँग दोब्बरभन्दा बढी मतान्तरले पराजित हुनुभयो ।
गुल्मी–२ बाट रास्वपाका गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याएर विजयी हुनुभयो भने एमालेका गोकर्ण विष्टले १६ हजार ४०६ मत ल्याएर झिनो मतान्तरले पराजित हुनुभयो । यो क्षेत्रबाट विष्टले निर्वाचन जित्दै आउनुभएको थियो । एमाले उपमहासचिव रघुवीर महासेठ धनुषा–४ बाट रास्वपाका राजकिशोर महतोसँग फराकिलो मतान्तरले पराजित हुनुभयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रौतहट–१ बाट यसअघि निर्वाचन जित्नुभएको थियो । यस निर्वाचनमा रास्वपाका राजेशकुमार चौधरीले २८ हजार ९४६ मत ल्याएर विजयी हुनुभयो भने नेकपाका नेपाल सात हजार ६६९ मत ल्याएर पाँचौँ स्थानमा पुग्नुभयो । नेकपाका नेता पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले २०६४ सालदेखि जाजरकोटबाट निर्वाचन जित्दै आउनुभएकोमा यस निर्वाचनमा कांग्रेसका खड्गबहादुर बुढासँग पराजित हुनुभयो ।
नेकपाका नेता अमनलाल मोदीले मोरङ–४ बाट निर्वाचन जित्दै आउनुभएको थियो । यस निर्वाचनमा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याएर विजयी हुनुभयो भने मोदी तेब्बर मतान्तर १० हजार ७६२ मत ल्याएर तेस्रो भई पराजित हुनुभयो । नेकपा नेता हितबहादुर तामाङले नुवाकोटबाट निर्वाचित हुँदै आउनुभएकोमा यस निर्वाचनमा रास्वपाका विक्रम तिमिल्सेनासँग झन्डै दोब्बर मतान्तरले पराजित हुनुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २०६४ सालदेखि (२०७९ बाहेक) निर्वाचन जित्दै आउनुभएको थियो । सप्तरी–३ बाट रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८७५ मत ल्याएर विजयी हुनुभयो भने जसपा अध्यक्ष यादवले १५ हजार २३९ मत ल्याएर दोस्रो भई पराजित हुनुभयो ।
जसपाका नेता शरत्सिंह भण्डारीले लोकतान्त्रिक समाजवादीबाट यसअघि निर्वाचन जित्नुभएको थियो । प्रायः निर्वाचन जित्नुभएका भण्डारी यस निर्वाचनमा महोत्तरी–२ बाट रास्वपाका दीपककुमार साहसँग पराजित हुनुभयो । जनमत पार्टीका अध्यक्ष सिके राउत रास्वपाका रामजी यादवसँग सप्तरी–२ बाट तेब्बरभन्दा बढी मतान्तरले पराजित हुनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रायः झापा–३ बाट निर्वाचन जित्दै आउनुभएकोमा यस निर्वाचनमा रास्वपाका प्रकाश पाठकसँग दोब्बरभन्दा बढी मतान्तरले पराजित हुनुभयो । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले नियमित निर्वाचन जित्दै आएको भक्तपुर–१ बाट यस पटक रास्वपाका रुकेश रन्जितसँग फराकिलो मतान्तरले पराजित हुनुभयो ।