• ११ वैशाख २०८३, शुक्रबार

डेनमार्कमा दुई रेल ठोक्किँदा १८ जना घाइते

blog

काठमाडौँ, बैशाख ११ गते । डेनमार्कमा बिहीवार दुई वटा स्थानीय रेल एक आपसमा ठोक्किँदा ठूलो क्षति भएको छ । नर्थ जिल्याण्ड प्रहरीका अनुसार टक्करमा १८ जना घाइते भएका छन् । जसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । प्रारम्भिकरूपमा रेलमा ३८ जना सवार रहेको अनुमान गरिएको भएपनि ड्यानिस ब्रोडकास्टर डीआरको पछिल्लो अद्यावधिक जानकारी अनुसार उक्त संख्या ३७ रहेको पुष्टि भएको छ । 

सिन्ह्वाका अनुसार दुर्घटना कोपेनहेगनबाट ५० किलोमिटर उत्तरमा पर्ने हिलरोड र कागेरुप बिचको ग्रिबस्कोभ लाइनमा भएको थियो । सूचना प्राप्त हुने बित्तिकै आपतकालीन उद्धार टोली घटनास्थलमा खटाइएको थियो । प्रहरी निरीक्षक मोर्टन पेडरसनले यस घटनालाई अत्यन्त गम्भीर दुर्घटनाको रूपमा वर्णन गरेका छन् । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीले विस्तृत अनुसन्धान शुरु गरिसकेको जनाइएको छ ।