काठमाडौँ, फागुन १० गते । प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारले अनेक प्रचार शैली अपनाउन थालेका छन् । उम्मेदवारले मतदातासँग साखुल्य हुन गर्ने गरेका व्यवहार सामाजिक सञ्जालमा रमिता देखाउने ‘ट्रोल’ बन्ने गरेका छन् ।
यसअघिका निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले पार्टीका शीर्ष नेता बोलाएर जनता सडकमा उतारेर आफ्नो प्रभाव देखाउँथे । यस पटकको निर्वाचनमा प्रायः उम्मेदवारले बृहत् आमसभा र ¥यालीभन्दा घरदैलो, जनसंवाद, अन्तर्क्रिया, छलफलदेखि मतदाताले गर्दै गरेको काम सघाएर मत तान्ने प्रयासमा लागेका छन् ।
रुकुमपूर्वबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिनुभएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयअघि लौरो लिएर मकै चुटेको फोटो र भिडियोको चर्चा भयो । त्यति मात्रै होइन, प्रचण्डले जनताका घरमै बसेर खाना, रोटी, मकैको खाजा खानेदेखि लिएर जनताले गरेकै कामलाई सघाएर मतदाताको मन जित्ने प्रयत्न गरेका फोटो र भिडियो सामाजिक सञ्जालमा फैलिए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्युठान जिल्लामा प्रतिनिधि सभा उम्मेदवार हुनुभएका सूर्य थापा जनताकै घरमा गएर मकै भुट्नेदेखि लिएर तरकारी काट्ने, रोटी पकाउने, नाङ्लो लिएर निफन्ने काम गरेपछि सामाजिक सञ्जालमा भाइरल हुनुभयो । गलाभरि माला लगाएर उहाँ आँखासमेत राम्रोसँग नदेखेर छाम्दै हिँडेको भिडियो र फोटोले चर्चा पाइरहेको छ । जनताले गर्दै गरेको काम सघाएर मत तान्ने प्रयास गर्दा चर्चा मात्रै नभएर सकारात्मक र नकारात्मक दुवै खालका प्रतिक्रिया उम्मेदवालाई दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नुवाकोट–२ बाट उम्मेदवार हुनुभएका डा. अच्युतम लामिछानेले मतदाताको खुट्टा ढोगेर मत मागेको भिडियो र फोटो केही समयअघि भाइरल भएको थियो । बुवाआमा, दाजुभाइ जति झुक्किनुभयो भयो पुग्यो, अब नझुक्किनुहोला, देश बनाउने छोरो आयो भनेर ढोग्दै भोट मागेपछि रमाइलो मानेर धेरैले रमिताका रूपमा सामाजिक सञ्जालमा फैलाए । यस्तै रास्वपाबाटै धादिङ–१ बाट उम्मेदवार हुनुभएकी आशिका तामाङले कुखुराको भाले र बाख्राको पाठालाई भोट मागेपछि धेरैले मजाकका रूपमा उडाएर चर्चा गरे । आमजनता पार्टीबाट रौतहट ४ बाट उम्मेदवार भएका पूर्व पत्रकार ऋषि धमलाले खेतमै पुगेर उखु बोक्नेदेखि लिएर, खेत खन्ने, जेरी पकाउने, साइकल चलाउने, अस्वाभाविक रूपमा अङ्गालो हाल्दा सामाजिक सञ्जालमा चर्चा हुने गरेको छ । मतदाताको घरमा उम्मेदवार बस्ने, खाना खाने, कुराकानी गर्ने, सांस्कृतिक कार्यक्रममा गाउने र नाच्ने सामान्य भए पनि प्रत्यक्ष रूपमा जनताले गर्दै गरेको काम सघाउन पुग्दा बाहिर अस्वाभाविक र गिज्याएको रूपमा विश्लेषण हुन थालेको छ ।
समाजशास्त्री मीना उप्रेतीले मतदातासँग नजिक हुन र आत्मीय बन्न चुनावी प्रचारशैली अपनाएको हुन सक्ने टिप्पणी गर्नुभयो । “यस्ता व्यवहारलाई उम्मेदवारले जनतासँग नजिक देखिन, एक प्रकारको आत्मीयता देखाउने प्रयासका रूपमा लिन सकिन्छ । समुदायसँग घुलमिल हुन र उनीहरूकै एक हिस्सा हुँ भन्ने देखाउन यस्ता गतिविधि गरिएको हुन सक्छ,” उहाँले भन्नुभयो, “यसले मतदाताको मनोविज्ञानमा कति प्रभाव पार्छ भन्ने कुरा दोस्रो पाटो हो तर उम्मेदवारको उद्देश्य भनेकै उनीहरूको मन जित्ने र ध्यान तान्ने हो ।” समाजमा विभिन्न वर्ग, समुदाय र सोच भएका मानिस र कन्टेन्ट क्रिएटरहरूकै कारण सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आएको उहाँले बताउनुभयो । उम्मेदवारले जनतालाई सघाउने नाममा अस्वाभाविक र गिज्याए जस्तो गर्न भने नहुने उहाँको सुझाव छ । उहाँले मतदातालाई आत्मीय ठानेर मत माग्न उम्मेदवारले प्रचारका रूपमा आआफ्नो शैली अपनाउन सक्ने बताउनुभयो ।