गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १७ गते । आरोहण सुरु नहुँदै सिजन सकिने चिन्ताबिच सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणका लागि बाटो बनाउने काम अघि बढेको छ । यस वर्ष सगरमाथा आधार शिविरदेखि पहिलो आधार शिविर पुग्ने बाटोमा पर्ने खुम्बु आइसफल क्षेत्रमा हिउँको ठुलो थुप्रो (सेराक) ले पु¥याएको बाधा र जोखिमबिच तीन साता ढिलो गरी बाटो खोल्ने कामले सफलता पाएको हो । पर्यटन विभागका अनुसार खुम्बु आइसफल क्षेत्रमा अवरोधका रूपमा उभिएको एक सय मिटर अग्लो हिउँको ढिस्कोको छेउ किनाराबाट वैकल्पिक बाटो पहिल्याउँदै अनुभवी शेर्पा (आइसफल डक्टर) को टोली अवरोध छिचोलेर उकालो लागेको छ ।
विभागका निर्देशक निशा थापा राउतले भन्नुभयो, “शेर्पाको टोली मङ्गलबार दिउँसो दोस्रो आधार शिविर पुगेको छ । यसअघि प्रचलनमा रहेको मार्गमा जारी अवरोध पूर्ण रूपमा हट्न समय लाग्ने अवस्थाका बिच अवरोध पु¥याएको हिउँको थुप्रोको छेउ भएर शेर्पाको टोली पहिलो आधार शिविर हुँदै दोस्रो शिविर पुगेको हो ।”
लगातार तापक्रम वृद्धि र हिउँको चलायमान अवस्थाले जोखिम बढाएको हिउँको थुप्रो करिब ७० प्रतिशत पग्लिए पनि आवागमन सुनिश्चित गर्न उक्त खण्डलाई थप सुदृढ र सुरक्षित बनाउन पुनः मूल्याङ्कनको काम भने जारी नै रहेको उहाँले बताउनुभयो ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सिजनको सबैभन्दा महत्वपूर्ण समय नजिकिए पनि मार्ग नखुल्दा आरोहीको योजना अन्योलमा परेको थियो । उच्च जोखिम र कठिन भौगोलिक अवस्थाका बिच निरन्तरको प्रयासका कारण आंशिक रूपमा बाटो तयार भए पनि तत्कालका लागि आरोही र सहयोगी शेर्पालाई ओहोरदोहोर गर्न भने जोखिम कामयै रहेको छ । उक्त अवरोध पार गरेर टोली दोस्रो शिविर पुगेसँगै त्यसभन्दा माथिको बाटो खोल्ने कामले भने तीव्रता लिएको र चुचुरोसम्म बाटो तयार हुँदासम्म बाधा पु¥याएको हिउँको थुप्रोसमेत पग्लिसक्ने अपेक्षासहित टोली वैकल्पिक बाटो पहिल्याएर उकालो लागेको उहाँले सुनाउनुभयो ।
सामान्य अवस्थामा खुम्बु आइसफल हुँदै सगरमाथाको मार्ग तयार गर्न करिब सातदेखि १० दिन लाग्ने गर्छ । यस वर्ष जोखिमयुक्त हिउँको थुप्रोका कारण बाटो निर्माणमा समय लाग्दा सयौँ आरोही बाटो खुल्ने पर्खाइमा छन् । पर्यटन विभागका अनुसार यो सिजनमा आरोहण अनुमति जारी भएका २९ हिमालबाट एक अर्ब सात करोड ८७ लाख ७७ हजार ३८९ रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको छ । जसमध्ये सगरमाथा आरोहणको अनुमति लिएका ४२५ आरोहीबाट ९२ करोड ४२ लाख २२ हजार ६७५, ल्होत्से आरोहण गर्न अनुमति लिएका १११ आरोहीबाट चार करोड ९७ लाख ७१ हजार ६५० र नुप्त्से आरोहणका लागि अनुमति लिएका ४२ जना आरोहीबाट ६२ लाख ४१ हजार ६५० रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको छ ।