• १७ वैशाख २०८३, बिहिबार

गुल्मीको मुसिकोटमा खेलकुद महामेला हुँदै

blog

मुसिकोट नगरपालिकाको कार्यालय । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), वैशाख १७ गते ।
गुल्मीको मुसिकोट नगरपालिका–४ भुवाचिदीको ग्वादीकाचौरमा खेलकुद महामेलाको आयोजना गरिएको छ । महामेला भित्र मुख्य तीन प्रतियोगिता समावेश गरिएको छ । महामेला वैशाख २५ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ । महामेला भित्र वैशाख ३१ देखि जेठ २ गतेसम्म तेस्रो मुसिकोट मेयर रनिङ कप आयोजना गरिएको छ ।

जसमा दुई लाख एक हजार रुपियाँ पुरस्कारको जिल्लाका पालिका स्तरीय भलिबल प्रतियोगीता रहेको छ । उपबिजेताले एक लाख ३५ हजार, तृतीयले ४० र सान्त्वना हुनेले २६ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मुसिकोट नगरपालिकाले जनाएको छ । मेयरकपमै महिला कबड्डी प्रतियोगिताको आयोजना गरिएको छ ।

यो प्रतियोगीताको बिजेताले ३५ हजार र उपविजेताले २० हजार रुपियाँ प्राप्त गर्नेछन् । ब्याटमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ । बिजेताले २० हजार र उपबिजेताले १३ हजार ५०० रुपियाँ पाउने मुसिकोटमा नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै ग्वादीकाचौरमा वैशाख २५ देखि २७ गतेसम्म मुसिकोट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको पनि आयोजना गरिएको छ ।

खेलकुद मैदान प्रसस्त रहेको र व्यवस्थापनको योजना समेत रहेकाले तीन वटा प्रतियोगिताहरुलाई जोडेर खेलकुद महामेलाको रुपमा अभियान सञ्चालन भएको क्षेत्रीले बताउनुभयो । सोही महामेलाभित्र १६ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पनि मुसिकोटको ग्वादिकाचौरका हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको गुल्मीले वैशाख २८ देखि ३० गतेसम्म प्रतियोगीता गर्ने निर्णय गरेको खेलकुद परिषद्, लुम्बिनीका सदस्य महेश काउछाले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तहवाट प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुको वैशाख २५ गते भित्र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नाम दर्ता गर्नुपर्ने काउछाले बताउनुभयो । चिदिचौर खेलमैदान निर्माणको चरणमा रहेकाले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड पछिल्लो तम्घास बाहिर आयोजना गरिएको छ । १५ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड रुरुक्षेत्र गाउँपालिकाको घिउवेँसी खेल मैदानमा सम्पन्न भएको थियो ।