• १७ वैशाख २०८३, बिहिबार

अलैँचीको गुणस्तर र बजारीकरणबारे छलफल

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, वैशाख १७ गते । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे ताप्लेजुङका किसानसँग छलफल गरेको छ । अलैँचीबाट हुने आम्दानी अझ बढाउने उद्देश्यले गुणस्तर र बजारीकरणका विषयमा महासङ्घले किसानसँग छलफल गरेको हो । उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको सहयोगमा महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे किसानसँग सोमबार छलफल गरेको हो । 

छलफलमा नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले हालको अलैँचीको गुणस्तरलाई अझ सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । उच्च गुणस्तरीय अलैँचीबाट मात्र राम्रो आम्दानी लिन सकिने र बजारीकरणमा सहज हुने भएकाले त्यसतर्फ अलैँचीका सरोकारवालाको ध्यान जानुपर्ने अध्यक्ष नेपालले बताउनुभयो ।

गुणस्तर सुधार गर्नका लागि सरोकारवाला अर्थात् किसान र स्थानीय व्यवयासीको भूमिका महत्वपूर्ण हुने भएकाले खेती तथा उत्पादन प्रणाली साथै अलैँची निर्यातको तयारी गर्दादेखि नै ध्यान दिन स्थानीय किसान र व्यवसायीलाई नेपालले आग्रह गर्नुभयो । महासङ्घका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरेले पनि गुणस्तरीय अलैँचीले मात्र राम्रो मूल्य पाउने र बजारीकरणमा सहज हुने भएकाले किसान तथा व्यवसायीको ध्यान जानपुर्ने बताउनुभयो ।

यता अन्तर्क्रियामा सहभागी किसानले अलैँची खेतीमा खेप्नु परेको समस्या र चुनौतीबारे अवगत गराएका थिए । अलैँची बिरुवा रोप्दा, बगान (बगैँचा) व्यवस्थापनका चुनौती र रोग तथा प्राकृतिक प्रकोपका समस्याबारे किसानले आफ्नो भनाइ अन्तर्क्रियामा व्यक्त गरेका थिए । अलैँची खेतीका लागि सरकारी तथा गैरसरकारी निकायबाट समयमा आवश्यक सहयोग नपाउने गरेको गुनासोसमेत किसानले गरेका छन् ।

कार्यक्रममा मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबिर हाङ्गाम (डम्बर) ले अलैँची उत्पादक किसानलाई लाभ हुने गरी अलैँची व्यवसायी महासङ्घसहितका निकायले पहल गर्नुपर्ने बताउनुभयो । 

अलैँची उत्पादनका सम्बन्धमा सबैभन्दा बढी समस्या र चुनौती खेप्ने पक्ष किसान भएकाले किसानलाई नै प्रत्यक्ष हित हुने वा लाभ मिल्ने गरी सहयोग गर्नुपर्ने हाङ्गामको भनाइ छ ।