गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद गर्न सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि तोकेको न्यूनतम समर्थन मूल्यमा कम्पनीले सुदूरपश्चिमबाट गहुँ खरिद गर्न सुरु गरेको हो ।
सरकारले गत मङ्सिरमै गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ९४५ रुपियाँ तोकेको थियो । सङ्घीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा थप ३०५ रुपियाँ कम्पनीबाट किसानलाई प्रोत्साहन हुने गरी प्रतिक्विन्टल चार हजार २५० रुपियाँमा गहुँ खरिद सुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रवक्ता माधव मिश्रले कम्पनीको प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीका दुई स्थानबाट गहुँ खरिद सुरु गरेको जानकारी दिनुभयो ।
सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार ९४५ रुपियाँ रहेकामा खाद्य कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले चार हजार २५० रुपियाँमा गहुँ खरिद गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । कम्पनीका अनुसार कम्पनीको प्रादेशिक कार्यालयबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ । प्रतिकिसान बढीमा ७० क्विन्टलका दरले र कृषिसम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा पाँच सय क्विन्टलसम्म गहुँ खरिद गरिने जनाइएको छ ।
कम्पनीका अनुसार यस वर्षका लागि ४० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको छ । प्रवक्ता मिश्रले १० हजार क्विन्टल सुदूरपश्चिमबाट खरिद गरिने र बाँकी ३० हजार क्विन्टल गहुँ खरिदका लागि अन्य प्रादेशिक कार्यालयबाट पहल भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार गहुँ खरिदका लागि सरकारले १८ करोड रुपियाँ बजेट छुट्टाइसकेको छ । तोकेको गुणस्तर र मापदण्ड अनुरुपको मात्रै गहुँ खरिद गर्ने र बजारमा आपूर्ति अवस्थालाई मध्यजनर गरी निर्धारित कोटा थपघट हुने कम्पनीले जनाएको छ ।