टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख ९ गते । गुल्मीका निर्माण व्यवसायीहरूले जिल्लाबाट निर्वाचित संघीय सांसदहरूसँग आफ्ना व्यवसायिक गुनासा राखेका छन्। निर्माण व्यवसायी संघ गुल्मीले क्षेत्र नं. १ का सांसद सागर ढकाल र क्षेत्र नं. २ का सांसद गोविन्द पन्थीलाई सम्मान गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ।
आगामी बजेटका विषयमा स्थानीय तह र सरोकारवालाको सुझाव लिन जिल्लामा आएका सांसदद्वयसमक्ष व्यवसायीहरूले नीतिगत समस्या र व्यवहारिक कठिनाइबारे जानकारी गराएका हुन्। निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार सम्मानसँगै व्यवसायीका गुनासा र सुझाव प्रस्तुत गरिएको हो।
व्यवसायीहरूले मापदण्ड पूरा गरी राजस्व तिर्दै क्रसर उद्योग निर्बाध सञ्चालन गर्न पाउनुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको मूल्य बढेकाले समायोजन गर्नुपर्ने तथा सम्पन्न कामको भुक्तानी समयमै नपाउँदा समस्या भएको उल्लेख गरेका छन्।
अध्यक्ष श्रेष्ठले जिल्लामा करिब २० अर्ब रुपियाँ बराबरका आयोजना सञ्चालनमा रहे पनि स्थानीय रूपमा गिटी–बालुवा निकाल्न नपाउँदा सरकारलाई नै घाटा हुने भन्दै सहजीकरण गर्न आग्रह गर्नुभयो। साथै, समयमै काम सम्पन्न भए पनि करिब २५ करोड रुपियाँभन्दा बढी भुक्तानी हुन बाँकी रहेकाले यसले समग्र क्षेत्रमा नकारात्मक असर पारेको उल्लेख गर्दै पर्याप्त बजेट व्यवस्था र समयमै भुक्तानी सुनिश्चित गर्न माग गरिएको छ।
क्षेत्र नं. १ का सांसद सागर ढकालले निर्माण व्यवसायलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउँदै कानुन निर्माण र कडा नियमनलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो। उहाँले सहजीकरण र नियमनलाई सँगसँगै अघि बढाइने पनि बताउनुभयो।
त्यस्तै, क्षेत्र नं. २ का सांसद गोविन्द पन्थीले इमानदार व्यवसायीका समस्या व्यवहारिक कानुनमार्फत समाधान गर्ने र विकास निर्माणमा देखिएको बेथिती अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले क्रसर सञ्चालनका विषयमा प्रशासनले केही हदसम्म सहजीकरण गरिरहेको पनि बताउनुभयो।